April 17, 2026, Friday
२०८३ बैशाख ४

उत्तराखण्ड बाढी : बेपत्ता नेपालीको संख्या २६ पुग्यो

कञ्चनपुर : भारतको उत्तराखण्डमा गत साता आएको बाढीमा बेपत्ता नेपालीको संख्या २६ जना पुगेको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तराकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता सूचीमा रहेका छन् । 

दूतावासका अनुसार धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर सिंह, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् । यसैगरि दिपक मगर, सुरज राना, मानबहादुर, नीम बहादुर, रवि सिंह र रामबहादुर रहेको दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार पाडीगढवालमा बेपत्ता भएकाहरूमा बर्दियाको मधुवन नगरपालिका ५ का नरेन्द्र खड्का, उनकी श्रीमती सन्ध्या, छोरा रोमन र अमृता परियार तथा गुलरिया नगरपालिकाका सुवास दमाई रहेका छन् । उनीहरु बुधबार पौडीगढवालको खैलीशैण क्षेत्रको बंकुरा गाउँमा परिरोमा परि बेपत्ता भएका हुन् ।

सडक निर्माणको काममा ज्यालादारी गर्न बंकुरा पुगेका उनीहरू सडक किनारमै टुण्ट गाडेर बसिरहेका थिए । बुधरबा टेन्टसहित उनीहरुलाई पहिरोले बगाएको हो । उनीहरूको खोजीका लागि आफन्तहरू समेत बंकुरा पुगेपनि नभेटिएपछि घर फर्किएका छन् । ‘अब भेटिने आश छैन, जति खोजेपनि कहीँ सम्भावना छैन,’ सुवासका बुवा सोम बहादुरले भने, ‘घर फर्केर किरिया गर्छौँ ।’ उत्तरकाशीमै काम गर्ने उनी छोरा बेपत्ता भएपछि शनिबार गढवाल पुगेका थिए । दुई दिन खोज्दा नभेटिएपछि घर फर्केका हुन् । नरेन्द्र र अमृताका परिवार पनि खोजी गर्दा नभेटिएपछि किरिया गर्न घर फर्केका छन् ।

उत्ररकाशीको धराली क्षेत्रमा मंगलबार आरिघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्रीमा मार्गमा पर्ने धराली बजार तहसनहस गरेको छ । गंगोत्री धामबाट बग्ने भागीरथी नदीको किनार र धामको अन्तिम बजारको रूपमा रहेको धराली बाढीपश्चात बगरमा परिणत भएको छ । बाढीले धरालीका दर्जनौँ घर तथा होटेलहरु पुरिएका छन् भने कतिपय बगेर भागीरथीमा पुगेका छन् ।

धराली क्षेत्रमै होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरु बाढीमा परेको अनुमान गरिएको छ । उक्त क्षेत्रमा बेपत्ता भनिएका २६ जनाको समूह आइतबार मात्रै सम्पर्कमा आएको उत्तरकाशीको डिएम (जिल्ला अधिकारी) प्रशान्त आर्यले बताए । उनका अनुसार उक्त समूह बाढी आएपछि ज्यान जोगाउन पहाडी क्षेत्रमा उक्लेको थियो । आइतबारदेखि धराली क्षेत्रमा फोन सेवा सुचारु भएपछि बेपत्ता भनिएकाहरू सम्पर्कमा आउन लागेका हुन् । नेपालीहरु पनि फोन सम्पर्कबाटै सम्पर्कमा आएका हुन् ।

दिल्ली स्थित नेपाली दूतावासका अनुसार धराली क्षेत्रबाट हालसम्म १३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरू हरिद्वार र देहरादुन क्षेत्रमा बसिरहेका छन् । कतिपय धरालीमै सञ्चालन गरिएको सामुदायिक भान्सामा समेत आश्रय लिई बसेका छन् ।

‘विभिन्न जिल्लाबाट समपर्कविहीन भेनर लिस्ट आइरहेको छ, त्यही लिस्ट उत्तरकाशी प्रशासनलाई बुझाएर बुझ्ने कोसिस भइरहेको छ,’ दूतावासका काउन्सिलर प्रकाश मल्लले भने, ‘अहिले सम्म उत्रराखण्डको बाढीमा परेर २६ जना बेपत्ता भएका छन् भने १३ जनाको उद्धार गरिएको छ ।’ उनका अनुसार विगतमा बेपत्ता भनिएकाहरू भेटिन थालेका बेपत्ता हुनेको संख्या अझै घटबढ हुन सक्ने देखिन्छ ।

धराली क्षेत्रमा फोन र विद्युत सेवा सुचारु भएपछि खोजीको काम तीब्र भएको छ । बाढीका बेला भागेर ज्यान जोगाएकाहरु सम्पर्कमा आएका छन् । त्यसैमध्ये २६ जना नेपालीहरुको समूह पनि रहेको छ । बर्डर रोड अर्गनाइजेशन (बिआरओ) मा काम गर्ने उनीहरू आइतबार सम्पर्कमा आएका छन् । यद्यपि उनीहरूको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।

‘अझै पनि धेरै मानिसहरु सम्पर्कमा आउन सकछन्, हामीहरु खोजीमै जुटेका छौं,’डिएम आर्यले भने, ‘अहिले बाढीले पुरेको क्षेत्रमा उत्खननको काम चलिरहेको छ ।’ उनका अनुसार बाढीले धराली बजारमा ३० देखि ३५ मिटरसम्म कटान गरेको छ । त्यही कटान गरेको ठाउँमा घर तथा होटेलहरु पुरिएका छन् । तिनै पुरिएका घरभित्र नेपाली कामदारहरु समेत बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको छ । कान्तिपुरबाट