इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि फेरि बल्झियो इरान-इजरायल द्वन्द्व

काठमाडौँ । इजरायलले शुक्रबार एकाबिहानै इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि दुई मुलुकबीच तनाव चर्किएको छ । रुस–युक्रेन, इजरायल–हमास युद्ध चलिरहेका बेला इरान र इजरायल पनि आपसी युद्धमा प्रत्यक्ष होमिए विश्वकै लागि आर्थिक र राजनीतिक संकट थप चुलिने चिन्ता बढेको छ ।
इजरायलले शुक्रबार गरेको हमलामा परी इरानी सेनाका प्रमुख मोहम्मद बाघेरी, इरानी रिभोलुसनी गाडर््स करका प्रमुख हुसेइन सलामी, वरिष्ठ कमान्डर घोलम अली रसिदलगायतको ज्यान गएको सञ्चारमाध्यमले जनाएका छन् । इरानको नातान्जस्थित आणविक प्रशोधन केन्द्रलक्षित आक्रमणमा ६ आणविक वैज्ञानिकको समेत मृत्यु भएको छ । इरानी समाचार संस्था तस्निमका अनुसार आणविक वैज्ञानिकहरू अब्दुलहामिद मिनुचेहर, अहमदरेजा जोलफाघारी, सैयद अमिरहुसैन फक्ही, मुतलबिजादेह, मोहम्मद मेहदी तेहरान्ची र फरेदुन अब्बासीको ज्यान गएको हो ।
इजरायलको हमलामा परी शुक्रबार साँझसम्म ७० जनाभन्दा धेरै आफ्ना नागरिकको ज्यान गएको इरानी पक्षले जनाएको छ । इरानको प्रमुख आणविक प्रशोधन केन्द्र ध्वस्त पारिएको इजरायली सेनाको दाबी छ । अलजजिराका अनुसार शुक्रबार दिनभरमा इरानको ‘सतहबाट सतहमा प्रहार गर्ने मिसाइल’ (एसएसएम) प्रणालीमाथि शृंखलाबद्ध आक्रमणको एक चक्र पूरा गरेको इजरायली सेनाले जनाएको छ ।
त्यस क्रममा दर्जनौं प्रक्षेपक, एसएसएम भण्डारण स्थलसहित विभिन्न सैन्य स्थान ध्वस्त पारिएको इजरायली सेनाको दाबी छ । बदलामा इरानले करिब एक सय ड्रोन इजरायलतर्फ पठाएको दाबी गरेको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) का ब्रिगेडियर जनरल एफी डेफ्रिनका अनुसार इरानले प्रक्षेपण गरेका सबै ‘अनम्यान्ड एरियल भेहिकल’ (यूएभी) अर्थात् ड्रोनहरू निस्तेज गरिएका छन् ।
प्रतिउत्तरमा इजरायलले ‘कठोर सजायको अपेक्षा’ गर्नुपर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीले प्रतिक्रिया दिएका छन् । बीबीसीका अनुसार इरानमा इजरायलले अपराध गरेको खामेनीको भनाइ छ । ‘जायनिस्ट (यहुदीवादी) शासकले यो अपराधमार्फत आफ्नै लागि एउटा तितो र पीडादायक दुर्भाग्य तयार पारेका छन्, त्यो उनीहरूले अवश्य भोग्नेछन्,’ खामेनीको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
इरानी नेताहरूले इजरायलमाथि तुरुन्तै प्रत्याक्रमण गर्ने तयारी गरिरहेको तेहरान विश्वविद्यालयका अनुसन्धानकर्ता मोहम्मद इस्लामीले अलजजिरालाई बताएका छन् । प्रत्याक्रणममा इजरायलका सैन्य र आणविक पूर्वाधारलाई लक्ष्य बनाइने उनको भनाइ छ । इजरायल–इरान द्वन्द्वलाई उनले सन् १९८० को इरान–इराक युद्धसँग तुलना गरेका छन् ।
इजरायलले इरानमाथि गरेको हवाई आक्रमणका विषयमा विभिन्न देशले चिन्ता व्यक्त गरेका छन् । कतिपय मुलुकले आलोचना गरेका छन् भने समर्थन गर्ने मुलुक पनि छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबारको आक्रमण इजरायलको एकपक्षीय कदम भएको प्रतिक्रिया दिएका छन् । ‘इजरायलले आत्मरक्षाका लागि आजको आक्रमण जरुरी रहेको हामीलाई बताएको थियो,’ उनले भनेका छन्, ‘हामीले अहिलेलाई त्यस क्षेत्रमा रहेका अमेरिकी फौजको सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छौं ।’
रुबियोले आफ्ना सेना वा अन्य अमेरिकी स्थानमा आक्रमण नगर्न पनि इरानलाई चेतावनी दिएका छन् । इरानस्थित अमेरिकी दूतावासका केही गैरसैन्य कर्मचारीलाई अन्यत्र सारिएको छ । यसै क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ‘ट्रुथ सोसल’ मा पोस्ट गरेर इरानलाई आफूसँग सम्झौता गर्न ६० दिन समय दिएको तर इरानले नमानेको भन्दै अझै पनि दोस्रो मौका रहेको घुमाउरो धम्की दिएका छन् । यसपटक सम्झौता नगरे ‘थप क्रूर’ आक्रमण हुन सक्ने उनको चेतावनी छ ।
रुसले इजरायली कदमको निन्दा गरेको छ । रुसको माथिल्लो सदनका उपसभामुख कोन्स्तेन्तिन कोसाचेभले यस्ता खाले आक्रमण जारी रहे पूरै पश्चिम एसिया युद्धमा होमिने बताएका छन् । ‘इजरायलको कदम कानुनी, राजनीतिक, सैनिक तथा नैतिक सबै दृष्टिकोणबाट अनुचित देखिन्छ,’ उनले भनेका छन् । रुसी समाचार एजेन्सी ‘टास’ का अनुसार इरानको धैर्यको सीमा टुट्दै गएको कोसाचेभको भनाइ छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सबै पक्षलाई संयम बन्न हुन आग्रह गर्दै स्थिति थप भड्किन दिन नहुनेमा जोड दिएका छन् । ‘इरानको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय सुरक्षामाथि आक्रमणको चीन विरोध गर्छ,’ जियानले भनेका छन्, ‘यो स्थिति अझै भड्किँदै जाने, द्वन्द्व बढ्ने र क्षेत्रीय तनाव अझै चर्कने कुनै पनि कदमको हामी विपक्षमा छौं ।’ स्थिति शान्त पार्नका लागि सहयोगी भूमिका खेल्न चीन तयार रहेको पनि उनको भनाइ छ ।
साउदी अरबले इजरायली आक्रमणको कडा निन्दा गरेको छ । ‘इस्लामिक गणतन्त्र इरानविरुद्ध इजरायली आक्रमणले यसको सार्वभौमिकता र सुरक्षालाई कमजोर पार्छ, अन्तर्राष्ट्रिय कानुन र नियमहरूको स्पष्ट उल्लंघन गर्छ,’ साउदीको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ । लेबनान, कतार र टर्कीले इजरायली कदमको आलोचना गर्दै यो पश्चिम एसियामा स्थिरता ल्याउन गरिएका अन्तर्राष्ट्रिय प्रयासहरू विरुद्ध भएको टिप्पणी गरेका छन् । बेलायत, फ्रान्स, जर्मनी, जापान, अस्ट्रेलिया, चेक रिपब्लिकले भने इजरायलको पक्षमा बोलेका छन् । इजरायललाई आफ्नो प्रतिरक्षा गर्ने अधिकार रहेको जर्मनीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतले इजरायली आक्रमणको निन्दा गर्दै दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । दुई देशबीच युद्ध भए त्यसको असर क्षेत्रीय मात्र नभई विश्वव्यापी हुने भएकाले कुनै पनि सैन्य आक्रमणलाई बढावा दिन नहुनेमा राष्ट्रसंघका महासचिव गुटेरेसको जोड छ । अमेरिकी राष्ट्रपति ट्रम्पको पहलमा अमेरिका र इरानबीच आइतबार ओमानमा आणविक सम्झौताका विषयमा वार्ता हुने तय भएको थियो । अमेरिका र इरानबीच आणविक सम्झौता हुने आशंकासहित इजरायलले शुक्रबार नै आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आणविक कार्यक्रमलाई लिएर गत अप्रिलदेखि भइरहेको अमेरिका–इरान वार्ताप्रति इजरायल बेखुस थियो । यही असन्तुष्टिमाझ इजरायलले शुक्रबार बिहान ३ बजेदेखि ‘अपरेसन राइजिङ लाइन’ का रूपमा इरानमा व्यापक हमला गरेको बीबीसीका पत्रकार रफाई बर्गको विश्लेषण छ । इजरायली आक्रमणपछि अमेरिका–इरान वार्ताको सम्भावना देखिएको छैन ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँग ९ वटा आणविक बम बनाउन पुग्ने पदार्थ रहेको र त्यसले इजरायलको अस्तित्व नै जोखिममा पार्ने तर्क गर्दै आएका छन् । आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि भएको इरानको दाबी छ । तर त्यसमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) र पश्चिमा मुलुकहरूले विश्वास गरेका छैनन् ।
इरानको आणविक कार्यक्रमलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने इजरायलको भनाइ छ । इरानी नेताहरूले सार्वजनिक रूपमै इजरायललाई विश्व मानचित्रबाट नामेट पार्ने धारणा राख्दै आएको र त्यसका लागि तीव्र गतिमा आणविक कार्यक्रम विस्तार गरिरहेको इजरायलको आरोप छ । यही कारण ठूलो परिणाममा युरेनियम प्रशोधन गरिने इरानको प्रमुख स्थल नातान्जलाई इजरायलले मुख्य आक्रमणको निसाना बनाएको मानिन्छ । इजरायलले गत अक्टोबरमा साइबर आक्रमण गरेर इरानको हवाई रक्षा प्रणाली क्षतिग्रस्त बनाएको थियो । त्यसको पुनर्निर्माण हुन नपाउँदै इजरायल पुनः आक्रमणमा उत्रिएको हो । यस घटनाले इरानको कमजोर सैन्य र रक्षा प्रणाली उजागर गरेको कतिपयको विश्लेषण छ ।
इजरायल–इरान तनावपूर्ण सम्बन्ध
इरान र इजरायलबीच चल्दै आएको प्रत्यक्ष–अप्रत्यक्ष द्वन्द्व दशकौं लामो सैद्धान्तिक, भूराजनीतिक तथा रणनीतिक तनावहरूमा आधारित छ । तर सन् १९४८ मा इजरायल स्थापना हुँदा सुरुमै मान्यता दिने देशहरूमा इरान पनि थियो । सन् १९७९ मा इस्लामिक क्रान्ति हुनुअघिसम्म इजरायल र इरानको सम्बन्ध राम्रो थियो । धेरैजसो अरब देशहरूसँग लडेको इजरायलको इरानसँग सम्बन्ध कतिसम्म मित्रवत् थियो भने, इजरायलबाहिर यहुदी समुदायको दोस्रो घरका रूपमा इरानलाई लिइन्थ्यो ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि थुप्रै यहुदीले इरान छोडे । त्यही क्रान्तिपछि राजतन्त्र हटेर इरान ‘इस्लामिक रिपब्लिक’ बनेको थियो । सत्तरीकै दशकको उत्तरार्धमा देशको सर्वोच्च नेताका रूपमा सत्तामा आएका आयातोल्ला रुहोल्ला खामेनीले इजरायलसँगका पुराना सम्झौताहरू खारेज गरिदिए । उनले प्यालेस्टिनी विद्रोहीलाई समर्थन गर्दै इजरायललाई ‘जायनिस्ट’ राज्यको उपमा दिए ।
उनले कडा रूपमा इजरायलविरोधी नीति अँगाले । त्यसयता इरान र इजरायल दुवै देशले क्षेत्रीय अस्थिरता र द्वन्द्वका लागि एकअर्कालाई दोषारोपण गर्दै आएका छन् । इरानले प्यालेस्टाइनको हमास, लेबनानको हेजबुल्लाह, यमनको हुथीजस्ता इजरायलविरोधी समूह र सिरियाका पूर्वतानाशाह बसर अल असदजस्ता इजरायलविरोधी शासकलाई निरन्तर सघाउँदै आएको छ ।
इरानले हालैका वर्षमा आणविक हतियार बनाएरै छोड्ने लालसालाई खुला रूपमा अघि बढाएपछि दुई देशबीचको सम्बन्ध थप चिसिन थालेको थियो । आणविक हतियारसहितको इरानलाई आफ्नो अस्तित्वमै संकट ल्याउन सक्ने कारकका रूपमा हेर्दै इजरायलले जासुसी क्रियाकलाप, भूमिगत अपरेसन र साइबर आक्रमण गर्दै आएको छ ।
इरानको आणविक अभियानमा संलग्न अधिकारीमाथि आक्रमण र कतिपय अवस्थामा हत्यासमेत गर्ने गरेको छ । त्यसको प्रत्युत्तरमा इरानले आफ्नो धार्मिक तथा क्षेत्रीय प्रभावको प्रयोगमार्फत इजरायलसँग जोडिएका र उसको प्रभाव रहेका देशमा अप्रत्यक्ष युद्ध र विद्रोही आक्रमणलाई सघाउनेजस्ता कदममार्फत इजरायलमाथि दबाब बढाउने गरेको छ ।
इजरायल–हमास द्वन्द्वले अकासिएको तनाव
इरानसमर्थित प्यालेस्टिनी समूह हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेपछि यी दुई देश प्रत्यक्ष द्वन्द्वमा ओर्लिए । त्यस आक्रमणका लागि आर्थिक, हातहतियार, तालिम तथा आवश्यक सूचना जुटाउन इरानले हमासलाई सघाएको आरोप इजरायल र अन्य पश्चिमा देशले लगाएका थिए । इरानले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । इजरायलले प्यालेस्टाइनसहित सिरिया, लेबनान, इराकजस्ता देशमा रहेका इरानसमर्थित मिलिसियासम्म जवाफी कारबाही विस्तार गरेको छ । इजरायलले सन् २०२४ को मध्यसम्ममा इरानसमर्थित र इरानी भूमिमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो ।
इरानले भने इजरायलविरोधी संगठनहरूमार्फत आक्रमण झनै चर्कायो । मुख्यतया यमनका हुथी विद्रोहीले रेड सी भएर आउजाउ गर्ने इजरायली र अमेरिकी जहाजहरूलाई बारम्बार निशाना बनाए । अक्टोबर २०२३ यताका २० महिनामा इजरायल र इरान वा इरानसमर्थित समूहबीच ८ हजार पटकभन्दा धेरै आक्रमण–प्रत्याक्रमण भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
य्द्धुका सन्दर्भमा प्राविधिक र स्रोतसाधनका हिसाबले इजरायल बलियो देखिन्छ । मानव जनशक्ति र क्षेत्रीय प्रभावसँगै मुस्लिम धार्मिक भावनाका दृष्टिले इरान बलियो छ । इजरायलसँग अहिले १ लाख ७० हजार कार्यरत र ४ लाख ६५ हजार रिजर्भ सैन्यशक्ति छ भने इरानसँग कार्यरत र रिजर्भ गरेर झन्डै १० लाख सैनिक रहेको आकलन छ । इजरायलसँग २ सय ४० लडाकु विमान, ६०० युद्धविमान र एफ–३५ जस्ता अत्याधुनिक लडाकु विमान रहेको मानिन्छ । शक्तिशाली आइरन डोम, अन्य मिसाइल डिफेन्स, आर्टिफिसियल इन्टेलिजेन्ससहितका हातहतियार र प्रविधिले इजरायल भरिभराउ छ । ऊसँग १३ सयभन्दा बढी ट्यांक र लगभग ४० हजार सैन्य वाहन छन् ।
इरानसँग ५५१ विमान, १ हजार ७ सय १३ ट्यांक र झन्डै ६२ हजार सैन्य वाहन रहेको अलजजिराले उल्लेख गरेको छ । इरानसँग २५ सबमरिन र ७ फ्रिगेट १०७ भन्दा बढी जल सैन्य वाहन रहेका छन् । इजरायलसँग जल सैन्य वाहनको संख्या ५ सबमरिन र ७ कर्भेटसहित ६२ छ । तर युद्ध भइहाले दुई देशमा मात्र सीमित रहने अवस्था छैन किनभने अमेरिका, बेलायत र युरोपेली देशहरूले खुला रूपमा इजरायलको समर्थन गर्दै आएका छन् ।
पछिल्ला केही वर्षमा रुससँग नजिक रहेको इरानलाई तुर्किएसहित पश्चिम एसियाका कतिपय देशले सघाउन सक्ने अवस्था छ । आफूसँग आणविक हतियार रहेको घोषणा खुला रूपमा नगरे पनि इजरायलसँग ८०–९० वटा आणविक वारहेड रहेको विश्लेषकहरूको अनुमान छ ।
अब के होला ?
अमेरिकाकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले भनेकी छन्, ‘इजरायल र इरानबीच युद्ध भए सीमा, देशहरूबीचका संगठन र अर्थतन्त्रहरूसँगै पूरै मध्यपूर्व क्षेत्रको नक्सा बदलिनेछ ।’ अमेरिकी राजनीतिक विश्लेषक तथा लेखक इयान ब्रेमरले यस्तो युद्ध भए त्यो क्षेत्रीय आकारको मात्र नहुने र पूरै विश्वलाई नै असर गर्ने जनाएका छन् ।
शुक्रबार मात्रै अमेरिकासहित विश्वका सेयर बजारहरू प्रभावित देखिए । कच्चा तेलको मूल्य करिब ७ प्रतिशतले बढेर प्रतिब्यारेल ७३ डलर पुगेको बीबीसीका बिजनेस रिपोर्टर जोनाथन जोसेफले लेखेका छन् । दुई देशबीच एक वर्ष युद्ध चले हजारौं जीवनसँगै लगभग १२ खर्ब अमेरिकी डलर बराबरको क्षति हुने रान्ड कर्पोरेसन नामक संस्थाको अनुमान छ ।
(एजेन्सीको सहयोगमा तयार पारिएको सामाग्री कान्तिपुरबाट)





प्रतिकृया दिनुहोस्