February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५

एयर इन्डिया जहाज दुर्घटना : ‘ब्ल्याक बक्स’ भेटियो, जीवित यात्री भन्छन्- म कसरी बाँचे यकिन भइरहेको छैन

काठमाडौँ । बिहीबार गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको जहाज दुर्घटनामा एक मात्र जीवित यात्रु विश्वास कुमार रमेशले आफू कसरी बाँचे भन्नेमा यकिन नै नभएको बताएका छन् ।

अहमदाबादबाट लन्डनको ग्याट्विक विमानस्थलका लागि उडेको एयर इन्डियाको एआई-१७१ उडान नम्बरको बोइङ ७८७ जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । उक्त जहाजमा २४२ जना यात्रु थिए ।

बेलायती नागरिक विश्वास उक्त जहाजको सिट नम्बर ११ ‘ए’ मा बसेका थिए । अहमदाबादस्थित सिभिल अस्पतालमा उपचाररत विश्वासले डीडी न्युजसँग भनेका छन्, ‘मलाई अहिले पनि यकिन नै छैन कि म कसरी बाँचे । पहिले मलाई लाग्यो कि म मृत्युको नजिकै छु । मैले आँखा खोले, सिट बेल्ट खोलेर बाहिर निस्कने प्रयास गरेँ ।’

उनले आफू बसेको जहाजको हिस्सा भवनमा नठोक्किएको पनि बताएका छन् । जहाजको एउटा हिस्सा भवनमै अड्किएको छ । आफू बसेको भाग भने जमिनमा खसेको विश्वास बताउँछन् । उनी भन्छन्, ‘म बसेकोतिरको ढोका फुटेको थियो । मैले सानो ठाउँ देखेँ । त्यहीँबाट मैले बाहिर निसक्ने कोसिस गरेँ ।’

उनले विमानका चालक दल र यात्रीहरूको मृत्यु आफ्नै ढंगले देखेको पनि बताउँछन् । आफ्नो बायाँ हातमा जलेको डोब भएको पनि उनले बताएका छन् । जहाजबाट निस्केलगत्तै लड्खडाउँदै हिँडेका उनलाई तुरुन्त एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइएको थियो । शुक्रबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्पताल पुगेर उनीसँग भेटघाट गरेका थिए ।

२३० यात्रु र १२ कर्मचारी लिएर उडेको एयर इन्डियाको विमान धावनमार्गबाट ‘टेकअफ’ गरेलगत्तै नजिकैको मेडिकल कलेजको होस्टलमा बजारिन पुगेको थियो । २ पाइलटसहित १२ जना ‘क्याबिन क्रु’ सदस्य र २३० यात्रु थिए । तीमध्ये १६९ जना भारतीय हुन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।

जहाजमा रहेका बेलायती नागरिक विश्वासकुमार रमेशबाहेक सबै यात्रुको मृत्यु भएको छ । उक्त विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको समेत मृत्यु भएको छ ।

 ‘ब्ल्याक बक्स’ भेटियो

Air India plane crash: 'Black box' found

दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजको ‘ब्ल्याक बक्स’ भेटिएको छ । शुक्रबार अपराह्न भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडु किंजरापुले उक्त जहाजको ब्ल्याक बक्स भेटिएको जानकारी दिएका हुन् ।

मन्त्री नायडूले एक्समा लेखेका छन्, ‘वायुयान दुर्घटना अन्वेशष ब्युरो(एआईआईबी) ले अहमदाबादको दुर्घटनास्थलबाट फ्लाइट डेटा रेकर्डर(ब्ल्याक बक्स) २८ घण्टाभित्र फेला पारेको छ । यो दुर्घटनाको जाँचका लागि महत्त्वपूर्ण कदम हो । यसले घटनाको अनुसन्धानका लागि निकै सहयोग पुग्नेछ ।’

विमान दुर्घटनामा ‘ब्ल्याक बक्स’को महत्त्व

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट डेटा रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ । ब्ल्याक बक्समा विमान दुर्घटना हुनुभन्दा अगाडिको २ घण्टाको कुराकानी तथा आवाज र २५ घण्टासम्मको उडानसम्बन्धी सूचना रेकर्ड हुन्छन् ।

विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सुरक्षित हुने गरी निर्माण गरिएको हुन्छ । यसमा रेकर्ड भएका कुराकानी वा आवाजको आधारमा विमान दुर्घटनाको कारण पत्ता लगाउन सकिन्छ । ब्ल्याक बक्समा रेकर्ड हुने ककपिटमा गरिएको कुराकानीसँगै इन्जिन तथा आपत्कालीन संकेतहरूको आवाजले दुर्घटनाका समयमा जहाजको अवस्थाबारे बुझ्न सकिन्छ । त्यसका साथै, जहाजका पाइलट तथा को–पाइलटले गरेको कुराकानी पनि ब्ल्याक बक्सबाट नै थाहा हुन्छ ।

ब्ल्याक बक्समा दुईवटा रेकर्डर हुन्छन् । पहिलो, फ्लाइट डाटा रेकर्डर (एफडीआर) ले विमानको उडानसम्बन्धी डाटा रेकर्ड गर्छ भने अर्को, ककपिट भ्वाइस रेकर्डर (सीभीआर) ले ककपिटमा पाइलटहरूबीच भएको कुराकानीदेखि त्यहाँको आवाज रेकर्ड गर्छ ।

ब्ल्याक बक्सको रंग भने कालो हुँदैन । विमान दुर्घटनामा परेको खण्डमा सजिलैसँगै पत्ता लागोस् र टाढैबाट देखियोस् भनेर यो सुन्तला रङको बनाइएको हुन्छ । यो पहिलो पटक सन् १९५३ मा अस्ट्रेलियामा निर्माण गरिएको हो । कान्तिपुरबाट