May 2, 2026, Saturday
२०८३ बैशाख १९

भारतमा कोरोना संक्रमित बढ्न थाले, १२ जनाको मृत्यु, चार नयाँ भेरियन्ट भेटिएको पुष्टि

काठमाडौं । भारतमा कोरोना संक्रमित बढ्न थालेका छन् । हाल सम्म १२ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ८१ पुगेको छ।

मंगलबार छिमेकी मुलुक भारतको कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमितलाई निको भएको जनाइएको छ।

उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो। यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ। कुल मृतक संख्या १२ पुगेको जनाएको छ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् । यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन्।

डा. बहलले बताए अनुसार हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ। विश्व स्वास्थ्य संगठनले पनि यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ।