टी-२०आई सिरिज : कुवेतद्वारा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ ।हङकङमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।
ओपनर राभिजा सन्दरुवान र क्लिन्टो एन्टोले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे। क्लिन्टो २६ रन जोडेर नन्दन यादवको बलमस आउट भए। दोस्रो विकेट पनि नन्दनले नै लिए। मिट भावसार १६ रनमा पबिलियन फर्किए।
यसपछि २३ रन बनाएका उसमान पटेललाई कुशल भुर्तेलले आउट गरे। तेस्रो विकेट गुमाउँदा कुवेतले १ सय २७ रन बनाएको थियो।
ओपनर राभिजा क्रिजमा टिके। उनले २८ बलमा अर्धशतक बनाए। उनको विकेट करण केसीले लिए। ३६ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गर्दै ६३ रनको महत्वपूर्ण पारी खेले।
राभिजा आउट भएपछि बिलाल ताहिर ९ रनमा रन आउट हुँदा ७ रन बनाएका मोहम्मद उमर तथा २ रन बनाएका यासिन पटेलललाई सोमपाल कामीले आउट गरे। कप्तान मोहम्मद अशलाम अविजित १३ रनना रहे।
बलिङमा नन्दन यादवले ४ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए। सोमपाल कामीले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए।
करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए। यो खेलमा ललित नारायण राजवंशी विकेट विहिन रहे।
नेपाल लिग चरणको शीर्ष स्थानमा रहँदै र कुवेत दोस्रो भएर फाइनलमा पुगेका हुन्।
नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो।य
यसअघि आजै रोमान्चक खेलमा कतारलाई १ ले हराउँदै आयोजक हङकङ सिरिजमा तेस्रो भएको छ। पहिले ब्याटिङ गरेको हङकङले ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। जवाफमा कतारले ५ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो।
प्रतिकृया दिनुहोस्