April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्ववियु निर्वाचन : बैतडीका दुई क्याम्पसमा नेविसंघ र एक क्याम्पसमा अनेरास्ववियु बिजयी

धनगढी । बैतडीमा भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दुई क्याम्पसमा र एक क्याम्पसमा अनेरास्ववियुले बिजयी हासिल गरेका छन् ।

बुधबार भएको स्ववियु निर्वाचनमा बैतडीकै जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका रोशन भट्ट प्यानलसहित विजयी भएका छन् । १०१ मत ल्याएर भट्ट सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडूले ५० मत ल्याए ।

यस्तै सचिवमा नेविसंघकी राधा बोहरा ८५ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी रेखा चुनाराले ५१ मत ल्याइन् । कोषाध्यक्ष पदमा विजयी भएकी नेविसंघकी मीना चन्दले ९१ मत ल्याउँदा अनेरास्ववियुका नवीन भट्टले ५५ मत ल्याए ।

बैतडीकै मणिलेक क्याम्पसमा नेविसंघ प्यानलसहित विजयी भएको छ । स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोजदत्त ओझा विजयी भएका छन् । ओझा ४८ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याए । त्यस्तै अखिल क्रान्तिकारीकी उम्मेदवार कल्पना भट्टले २१ मत ल्याइन् ।

यस्तै सचिवमा नेविसंघका दर्शन नेगी ५३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी उर्मिला नायकले ३७ र अखिल क्रान्तिकारीका धनवीर दयालले १८ मत ल्याए ।

कोषाध्यक्षमा नेविसंघकी पूजा चन्द ५२ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी लक्ष्मी ओझाले ४० मत र अखिल क्रान्तिकारिकि दिया दयालले १४ मत प्राप्त गरेकी छिन् ।

यस्तै बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भएका छन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलका उम्मेदवार भण्डारीले १०५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटम प्रतिस्पर्धी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतमप्रसाद अवस्थीले ५६ मत ल्याए । नेविसंघकी उम्मेदवार माधवी भट्टले १६ मत ल्याइन् । सचिवमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका प्रकाश भट्टले ९६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका कमला भट्टराईले ५५ मत ल्याइन् ।

कोषाध्यक्षमा संयुक्त प्यानलबाट अनेरास्ववियुका गजेन्द्र चुनारा १०७ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिनेशप्रसाद भट्टले ४९ मत ल्याए ।

कैलालीको दुर्गालक्ष्मीमा नेविसंघको प्यानल नै विजयी

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भुवन महरा विजयी भएका छन् । महरा ४४१ मतसहित दोस्रो कार्यकालका लागि सभापतीमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी सयुक्त अखिल प्यानलका बमबहादुर बिश्वकर्माले ३७८ मत प्राप्त गरेका छन् । सचिवमा नेविसंघकी ज्योति साहु ४७४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अखिल सयुक्तका गणेशनाथ योगीले ३२६ मत प्राप्त गरे ।

कोषाध्यक्षमा पनि नेविसंघकी उम्मेदवार सोनिया शाहले ४४५ मत ल्याउँदै निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी अखिल सयुक्तकी दिपिका जोशीले ३५१ मत प्राप्त गरिन् । सदस्य पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गालक्ष्मीमा नेविसंघविरुद्ध सबै गठबन्धन एक भएर चुनाव लडेका थिए ।

डोटीको घण्टेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु प्यानलसहित विजयी भएको छ।

जोरायल गाउँपालिका–४ मा रहेको श्री घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको निर्वाचन समिति संयोजक वासुदेव जोशीले जानकारी दिए।

उनका अनुसार अध्यक्षमा शुरत बोहरा ६९ मत, सचिव दीपक साउदले ६५ मत र कोषाध्यक्ष कलावती बोहराले ६६ मत प्राप्त गरेका छन्। सदस्यहरुमा शर्मिला विक ६६, रेखाशाहु ६५, धनाकुमारी कामी ६४ र कविता मगरले ६२ मत प्राप्त गरेका छन्। 

कूल ११४ जना मतदाता रहेको उक्त क्याम्पसमा जम्मा १०३ मत खसेको थियो भने समानुपातिकतर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गरेको र नेपाल विद्यार्थी सङ्घले ३६ मत प्राप्त गरेको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पस निर्वाचन समितिले जनाएको छ।