April 18, 2026, Saturday
२०८३ बैशाख ५

गहनान महायज्ञको शुभारम्भ चैत्र १७ देखि, शुभारम्भका लागि पूर्वप्रधानमन्त्री देउवा आउने

डोटी । गहनान महायज्ञको शुभारम्भ चैत्र १७ देखि सूरु हुने भएको छ । डोटी जिल्लाको शिखर नगरपालिका-१०, गहनानमा हुने महायज्ञको शुभारम्भ पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गर्ने भएका छन् ।

महायज्ञ आयोजक समितिले दिएको जानकारी अनुसार यही चैत्र १७ देखि २५ सम्म आयोजना हुने गहनान त्रिवेणी धाम श्रीमद देवी भागवत महापुराण ज्ञान धन धन्याञ्चल लक्ष्य हवन महायज्ञको शुभारम्भका लागि पूर्वप्रधानमन्त्री देउवा डोटी आउने तय भएको हो ।

महायज्ञ मूल आयोजक समितिका संयोजक ललित बलायरले डोटी र डडेल्धुरा जिल्लाको सिमानामा पर्ने गहनान भूमिराज देवताको देवस्थलमा महायज्ञ हुने बताए । यसको तयारीका लागि मुल आयोजक समितिसँगै विभिन्न १८ वटा उप-समितिहरु गठनगरि काम थालिएको छ ।

महायज्ञको तयारीका लागि डोटीको शिखर नगरपालिका, डडेल्धुराको गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयहरुको भेलाबाट समिति गठन गरिएको छ । महायज्ञलाई सफतापूर्वक आयोजना गर्न र प्रचारप्रसार गर्नका लागि प्रदेश राजधानी कैलाली र संघीय राजधानी काठमाण्डौंमा पनि छलफल तथा बैठकको आयोजना गरिएका छन् ।

महायज्ञ मुल आयोजक समितिका संयोजक बलायरका अनुसार डोटीमा धार्मीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको हो । महायज्ञमा आध्यात्मिक वाचक पण्डित श्री ऋषिकेष उपाध्याय प्रमुख बाचकका रुपमा रहने छन् ।

महायज्ञमा तुला दान, अन्न दान, गौदान, आरती सेवा, विशेष पूजा, ब्राह्मण पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, व्रतबन्ध लगायत कार्यक्रमहरू हुनेछन् । बलायरका अनुसार योग विज्ञान शिविर, शालिग्राम पुजन, देव भागवत, मुलपाठ, रुद्री श्रीमद्भागवत कथा प्रवचन, झाँकी बालसंस्कार कार्यक्रम, भजनकृतन पनि हुने छन् ।

पवित्र धार्मिक स्थलकारुपमा रहेको गहनान धामको विकास, प्रचारप्रसार, आध्यात्मिक केन्द्र र धार्मीक पर्यटकीय क्षेत्रकारुपमा विकास गर्ने उद्येश्यसहित महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक बलायरले बताए ।

यस क्षेत्रलाई शाकल्य ऋषिले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँ मानिन्छ । सिता (सेती) नदी र साकल्य नदी (सकाइली गाड) संगम स्थल रहेको यस क्षेत्रमा पौराणिक कथा महाभारतका मुख्य पात्रहरु ५ पाण्डवले तपस्या गरेको भन्ने समेत कथन रहेको छ ।

गहनान धाम हिन्दू धर्माबलम्बीहरुका लागि एक पवित्र, ऐतिहासिक र धार्मीक पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको र गहनान धाम प्राचीनकादेखि नै आध्यात्मिक महत्वको क्षेत्र हो,“उनले भने, “यो धामको आफ्नै ऐतिहासिक, धार्मिक महत्व र प्रचुर पर्यटकीय सम्भावना रहेको छ । गहनान र सीता (सेती) नदीका बारेमा स्कन्द पुराणको मानस खण्डमा पवित्र धार्मीक स्थल भनेर वर्णन गरिएको छ ।”

गहनान धाम क्षेत्र विकास समितिका अध्यक्ष दुर्गाप्रसाद रोस्याराले अठार पुराणहरू मध्यको सबैभन्दा ठूलो मुख्यपुराण “स्कन्द पुराण”मा साकल्य ऋषिले सीता र साकल्य नदीको सङ्गममा गायत्री मन्त्रद्वारा सिद्धि प्राप्त गरेको उल्लेख गरेको बताउदै उनले भने,“स्कन्द पुराणका अनुसार साकल्य ऋषिको लामो र कठिन तपस्याबाट प्रसन्न भई भगवान विष्णुले सो तपस्या भूमिलाई पवित्र धार्मिक स्थल होस भनी आशिष् दिनु भएको थियो । यस धामको प्रचारप्रसार र ऐतिहासिक खोजी हुन सकेको छैन । यसलाई व्यवस्थित गर्दै लगियो भने यहाँ धार्मीक पर्यटन फस्टाउँछ ।”

सेती नदी हिमालको काखबाट प्रकट भई गहनान हुँदै दिल्पेश्वरबाट उत्तरवाहिनी बग्ने नदी हो । सामान्यतः उत्तरतर्फ हुँदै बग्ने नदी नाला विश्वव्यापी रुपमा नै कम हुन्छन् । उत्तरबाहिनी नदीलाई हिन्दू धर्मग्रन्थमा अत्यन्त पवित्र मान्ने गरिन्छ ।

गहनानमा मकर सङ्क्रान्ति, पुस मसान्तमा ठुलो मेला लाग्ने गर्दछ । जहाँ सुदूरपश्चिम र छिमेकी देश भारतबाट पनि तीर्थयात्रीहरू गङ्गा–स्नान गर्न आउने गर्दछन् । मकर सङ्क्रान्ति तथा अन्य शुभ साइतमा बिबाह र व्रतबन्ध गर्न पनी आउने चलन रहेको छ । गहनानमा स्नान गरेपछि जुगौं देखिको पाप नष्ट भएर जाने र यहाँ अस्तु विसर्जन गर्नाले मृत आत्मोको स्वर्गारोहण हुने र पितृले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेको छ ।

यहाँ मकर सक्रान्ति, औँसी र नवरात्रिमा तीर्थालु भक्तजनहरुले मंगलगान, फाग, भागेश्वर, गन्याप, मस्ट देवता को फाग गाउँने गर्छन । फाग गाउँदा देवता प्रसन्न हुने विश्वास रहि आएको छ ।