March 13, 2025, Thursday
२९ फाल्गुन २०८१, बिहीबार

कम्युनिष्ट एकताको प्रयास जारी छ : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरूसँग एकताको छलफल प्रयास जारी रहेको बताएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशले सोमबार आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

नेकपा एकीकृत समाजवादी र नेकपासँग पार्टीसँग एकताको छलफल चलिरहेको प्रचण्डको भनाइ छ । उनले बलियो कम्युनिष्ट पार्टी निर्माणको प्रयासमा आफू प्रयत्नशील रहेको बताएका हुन् ।

‘विचार मिल्नेहरूसँग एकताको लागि हामीले सधैं प्रयास गरिरहेका छौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकताका कुरा भइरहेका छन्,’ प्रचण्डले भने, ‘हामी सबैले पार्टी एकताकै लागि आधार बनोस् भनेर समाजवादी मोर्चा बनाएका हौं ।’

उनले पछिल्लो केन्द्रीय समितिको विस्तारिक बैठकपछि समुदायमा आधारित समाजवादलाई अहिलेको मुख्य कार्यदिशा बनाएको पनि बताए । पार्टीले जितेका स्थानीय तहमा त्यही कार्यदिशाअनुसार कार्यक्रम लागू गर्ने प्रयासमा लाग्न उनले निर्देशन दिए ।

‘स्थानीय विशेषता, भौगोलिक, जातीय, सामाजिक बनोटबमोजिम कार्यक्रम विकास गरेर अघि बढौं । समुदायमा आधारित समाजवादलाई आधार मानेर हामीले जितेका स्थानमा काम गरौं,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।

उनले पार्टीको जीवनमा जनयुद्धकालदेखि नै अन्तरसंघर्ष र एकताको क्रम चल्दै आएको उल्लेख गर्दै त्यसका बाबजुद पार्टी केन्द्रीकृत र एकताबद्ध हुन जरूरी रहेको बताए । उनले नेतृत्व रातारात बन्ने विषय नभएको पनि जिकिर गरे ।

फरक प्रसंगमा उनले सदनलाई अवमूल्यन गरेर सरकारले अध्यादेश ल्याएकाले पारित हुने स्थिति नरहेको बताए । ‘सरकारले सदनलाई अवमूल्यन गरेर अध्यादेश ल्यायो, त्यो गलत थियो । यसलाई अस्वीकार गरेका छौं । बहुमतले पेलेर जान सक्ने अवस्थामा सरकार छैन,’ उनले भने ।