युएसएआइडीले विश्वभर काम गर्ने आफ्ना कर्मचारीलाई दियो बिदा, नेपालमा ९१ अर्बका कार्यक्रम प्रभावित ?

काठमडौं । अमेरिकी विदेशी सहायताको प्रमुख संस्था युएसएआइडीले विश्वभरमा रहेका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदा दिएको छ।
युएसएआइडीको भविष्यबारे चौतर्फी चर्चा भइरहँदा वेभसाइटमार्फत सूचना जारी गरेर विश्वभर रहेका आफ्ना कर्मचारीहरूलाई बिदा दिएको हो। यो वेभसाइट एक साता अघिसम्म बन्द थियो।
युएसएआइडीले विशेष रूपमा तोकिएको तथा नेतृत्वदायी भूमिकामा रहेर महत्त्वपूर्ण जिम्मेवारीमा सम्हालिरहेकाहरूको हकमा भने बिहीबारसम्म निर्णय गर्ने भनेको छ।
बाँकी कर्मचारीहरूलाई बिदा दिने र उनीहरूसँगको करार सम्झौता रद्द गरिने पनि सूचनामा उल्लेख छ।
युएसएआइडीको कर्मचारी रही देशबाहिर काम गरिरहेका अमेरिकीहरूलाई ३० दिनभित्र अमेरिका फर्किए संस्थाले खर्च ब्यहोर्ने बताएको छ। तत्काल फर्कन नमिल्ने अवस्थामा रहेकाहरुबारे पनि संस्थाले बिचार गर्ने र अर्को सूचना जारी गर्ने युएसएआइडीले जनाएको छ।
सूचनामार्फत युएसएआइडीले विश्वभर काम गर्दै आएका आफ्ना कर्मचारीहरूलाई धन्यवाद पनि दिएको छ।
अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले जिम्मेवारी सम्हालेपछि युएसएआइडीको भविष्य अनिश्चित भनेको हो।
युएसएआइडी अमेरिकी विदेशी सहायता र विकास कार्यक्रमहरू सञ्चालन गर्ने स्वतन्त्र संस्था हो। विश्वभर यसका लगभग १०,००० कर्मचारी छन्। पूर्व राष्ट्रपति जो बाइडेनले युएसएआइडीका प्रमुखलाई राष्ट्रिय सुरक्षा परिषदमा राखेका थिए।
युएसएआइडीले संसारभरका कैयन् मुलुकमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्छ।
युएसएआइडी नेपालमा विगत ७० वर्षदेखि कार्यरत छ। यो संस्थाले सन् २०२२ मा नेपाललाई पाँच वर्षकालागि ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रुपैयाँ) सहायता दिने घोषणा गरेको थियो।
कानुनी लडाइँको सम्भावना
अमेरिकी कांग्रेसका डेमोक्र्याटिक पार्टीका सदस्यहरूले ट्रम्प प्रशासनले यो काम युएसएआइडी स्थापना गर्ने र यसलाई एक स्वतन्त्र संस्थाको रूपमा काम गर्न दिने अमेरिकी कानुनहरूको उल्लंघन गरेको बताएका छन्।
उनीहरूले कानुन निर्माता र युएसएआइडीका कर्मचारीहरूसँग यसका बिरुद्ध कानुनी कदमहरू चाल्नेबारे छलफल गरिरहेको समाचार संस्थाहरूले जनाएका छन्।
सिनेट विदेश सम्बन्ध समितिका वरिष्ठ डेमोक्र्याट सदस्यहरूले आइतबार अमेरिकी विदेश मन्त्री मार्को रुबियोलाई यस घटनाबारे स्पष्ट गर्न पत्र पठाएका छन्। समितिकी अध्यक्ष जीन शाहिनले डेमोक्र्याट र रिपब्लिकनहरूलाई साथ लिएर यसमा काम गरिरहेको बताएकी छन्।
ट्रम्प प्रशासनले यसअघि नै अमेरिकी विदेशी सहायता ९० दिनका लागि ‘फ्रिज’ (स्थगित) गरिसकेका छन्। युएसएआइडीलाई विदेश मन्त्रालयअन्तर्गत लैजाने र खर्च कटौती गर्ने ट्रम्पको योजना छ।
नेपालमा ९१ अर्बका कुन कुन कार्यक्रम प्रभावित ?
अमेरिकी विदेशी सहायता सम्बन्धी संस्था युएसएआइडीको भविष्य अनिश्चित भएसँगै नेपालमा पनि धेरै कार्यक्रममा यसको असर देखिने भएको छ। युएसएआइडी नेपालमा विगत ७० वर्षदेखि कार्यरत छ।
सन् २०२३ देखि २०२९ सम्मका लागि युएसएआइडीले नेपालमा धेरै कार्यक्रमहरू अघि बढाउने गरी सम्झौता गरेको थियो। सरकार र युएसएआइडीबीच ‘विकास लक्ष्य सम्बन्धी भएको औपचारिक सम्झौता’ अनुसार कुल ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रूपैयाँ) बराबरका कार्यक्रम सञ्चालनमा छन्। यसमध्ये ४० करोड डलर (५५ अर्ब रूपैयाँभन्दा बढी) बराबरको कार्यक्रम स्वीकृत भएको छ।
युएसएआइडीले नेपालमा मुख्य ३३ वटा कार्यक्रम सञ्चालन गरेको छ।
यस्ता छन् ३३ कार्यक्रम र सम्झौता रकमः
सरकारी कोषमा अनुदान आएर सञ्चालन गर्ने कार्यक्रम | |
कार्यक्रम | अनुदान रकम (डलरमा) |
युएसएआइडी स्वास्थ्य परियोजना | दुई लाख ५० हजार |
युएसएआइडी कृषि परियोजना | दुई लाख १० हजार |
युएसएआइडी शिक्षा परियोजना | दुई लाख ५० हजार |
युएसएआइडी समावेशी नीति परियोजना | सात लाख |
युएसएआइडीले प्रत्यक्ष खर्च गर्न कार्यक्रम | |||
कार्यक्रमको नाम | सम्झौता रकम (डलरमा) | कार्यक्रम सुरू वर्ष | कार्यक्रम समाप्तीवर्ष |
युएसएआइडी ग्लोबल हेल्थ सेक्युरिटी कार्यक्रम | ६ लाख | २०२३ | २०२६ |
युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ (इजिएल) कार्यक्रम | तीन करोड ९९ लाख | २०२३ | २०२८ |
मोमेन्टम देशीय तथा विश्वव्यापी नेतृत्व (एमसिजिएल) कार्यक्रम | २० लाख | २०२३ | २०२६ |
बालबालिका, तथा जबरजस्ती विवाह न्यूनीकरण कार्यक्रम | पाँच लाख | २०२३ | |
युएसएआइडी शिक्षा: समानता र समावेशीकरण कार्यक्रम | दुई करोड | २०२३ | २०२८ |
स्थानीय कार्य सहायता कार्यक्रम | १९ लाख ८७ हजार | २०२४ | २०२९ |
शिक्षा समानता र समावेशीकरण सम्बन्धी परिमार्जन | दुई करोड | २०२३ | २०२८ |
विकासका लागि सिकाइ कार्यक्रम | एक करोड ३९ लाख | २०२३ | २०२६ |
जलवायु-स्मार्ट कृषि कार्यक्रम | तीस लाख | २०२३ | २०२६ |
कृषि सामग्री व्यवस्थापन कार्यक्रम | दुई करोड ४९ लाख | २०२३ | २०२८ |
सामुदायिक न्याय सेवा कार्यक्रम | पाँच लाख | २०२४ | २०२९ |
स्वास्थ्य सिकाइ कार्यक्रम | पाँच लाख | २०२४ | २०२९ |
कृषिमा रूपान्तरणका कार्यक्रम | ६ करोड ५० लाख | २०२४ | २०२९ |
नेपाल महिला व्यवसाय प्रवर्द्धन कार्यक्रम | ९५ लाख | २०२४ | २०२९ |
एजुकेसन इमरजेन्सी रेस्पोन्स कार्यक्रम | ४१ लाख | २०२४ | २०२७ |
स्वास्थ्य सर्वेक्षण कार्यक्रम | ४५ लाख | २०२४ | २०२८ |
नेपाल इन्जिनियरिङ सेवा कार्यक्रम | ८२ लाख | २०२३ | २०२८ |
स्थानीय सहायता कार्यक्रम | दुई करोड ३३ लाख | २०२४ | २०२९ |
युएसएआइडी हाम्रो सम्मान कार्यक्रम | चार लाख | २०२४ | २०२६ |
लोकतान्त्रिक प्रक्रिया विस्तार कार्यक्रमको परिमार्जन सम्बन्धी कार्यक्रम | ६० लाख | २०२३ | २०२८ |
युएसएआइडी पोषण एकीकृत कार्यक्रम (परिमार्जन) | ७२ लाख | २०२३ | २०२८ |
सामुदायिक एचआइभी सम्बन्धी कार्यक्रम | ४४ लाख | २०२४ | २०२७ |
जनसांख्यिकीय तथा स्वास्थ्य सर्वेक्षण कार्यक्रम | २० लाख | २०२४ | २०२९ |
सार्वजनिक वित्तीय व्यवस्थापन (दिगो वित्त) | एक करोड ९८ लाख | २०२३ | २०२६ |
व्यापार तथा प्रतिस्पर्धात्मकता (उद्यम नेपाल) | एक करोड ८९लाख | २०२३ | २०२७ |
उर्जा नेपाल | २०२३ | २०२५ | |
जैव विविधता (जल-जंगल) कार्यक्रम | ३ करोड २३ लाख | २०२३ | २०२७ |
कृषि सामग्री बजार रूपान्तरण कार्यक्रम | २२ लाख | २०२३ | २०२४ |
प्रतिकृया दिनुहोस्