May 2, 2026, Saturday
२०८३ बैशाख १९

कुम्भमेलामा भागदौड मच्चिँदा १४ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ । भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । महाकुम्भ मेलाका क्रममा गएराति करिब १ः३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी घाइते छन्। भागदौडमा क्रममा दर्जनौँ मानिसहरू हताहत भएको उल्लेख गरेका छन् । दैनिक भास्करकाअनुसार स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्‍याइएको छ। यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ ।

भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ। संगम नाकामा अत्यधिक भीड भएकाले यो निर्णय गरिएको अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले बताए। यसैबीचप्रधानमन्त्री नरेन्द्र मोदीले फोनमा मुख्यमन्त्री आदित्यनाथ योगीसँग घटनाको बारेमा जानकारी लिएका छन् ।

होहल्लाका कारण एकाएक भागदौड मच्चियो। केही महिलाहरू भुइँमा लडे र मानिसहरू तिनीहरूलाई कुल्चीमिल्ची गर्दै हिँडे। दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्सहरू संगम किनारमा पुगेका थिए। यसै मार्फत घाइते र मृतकहरूलाई अस्पताल लगियो।

सार्वजनिक भएको एक ड्रोन फुजेटमा लाखौँ भक्तजनहरू देखिन्छ । उनीहरू उज्यालो भएपछि पवित्र स्नान गर्ने गरी अघि बढिरहेका थिए । आज महाकुम्भ मेलाको सबैभन्दा शुभ दिन मानिन्छ । त्यहीकारण भक्तजनहरू मंगलबारदेखि नै स्नानका लागि लाइनमा थिए ।

दुर्घटनापछि, एनएसजी कमाण्डोहरूले संगम किनारमा जिम्मेवारी लिएका छन्। संगम नाका क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ। भीड बढ्न नदिन प्रयागराज शहरसँग सिमानामा रहेका सबै जिल्लाहरूमा भक्तजनहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख छ ।

जनवरी १३ बाट सुरु भएको कुम्भ मेलामा छ वटा अमृत स्नान हुन्छन् जसमा दुई वटा सम्पन्न भइसकेका छन् भने तेस्रो अमृत स्नान बुधबार चलिरहेको छ ।

चौथो अमृत स्नान ३ फेब्रुअरीमा, पाँचौं अमृत स्नान १२ फेब्रुअरीमा र छैटौं तथा अन्तिम अमृत स्नान २६ फेब्रुअरीमा हुनेछ।