April 29, 2026, Wednesday
२०८३ बैशाख १७

सुदूरपश्चिमबाट मौसममा बदली सुरु : अत्याधिक चिसो बढ्ने, कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाडौं । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै पूर्वतिर फैलिँदै गरेको जनाएको हो ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कर्णाली प्रदेशमा पनि फैलिने बताए । यो प्रणाली विस्तारै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउने उनले जानकारी दिएका छन् ।

आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताए। उनका अनुसार अहिले वर्षा भने भइसकेको छैन। राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उहाँले जानकारी दिए।  

महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ। 

हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आगामी २४ घन्टामा बागमती प्रदेश र मधेस प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ। 

चिसो बढ्न सुरू 

मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरू भएको छ। गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले उल्लेख गरे।

विभागको अभिलेखमा हाल काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री रहेको छ। यसअघि पुस ४ गते काठमाडौंको तापक्रम चार दशमलव आठ डिग्री थियो।

यस्तै सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस सात दशमलव आठ डिग्री पुगेकामा पुस ४ गते त्यहाँ माइनस सात दशमलव दुई डिग्री थियो। अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ।

आगामी २४ घन्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू तथा बागमती प्रदेश र मधेस प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरू साथै बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थय, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।