December 1, 2024, Sunday
१६ मंसिर २०८१, आईतवार

बडिमालिकामा डोटीको ‘पेटारो’, जुम्लाको ‘डोली’

धनगढी । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा शनिबारदेखि सुरु भएको मेलामा आइतबार बिहान मुख्य पूजा सम्पन्न भएको छ । मेलाका लागि करिब १० हजार तीर्थालु, भक्तजन एवं पर्यटकहरु त्यहाँ पुगेका छन् । हरेक वर्षको श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजा हुने प्रचलन छ ।

बडिमालिका पूजारी भानुभक्त पाध्यायका अनुसार यस वर्ष बडिमालिका करिब १० हजारको हाराहारीमा भक्तजन तथा पर्यटकहरु पुगेका छन् । उनका अनुसार यस वर्ष बडिमालिका पुग्नेहरुको संख्या हालसम्मकै उच्च हो । तत्कालीन जुम्ला र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्ला र डोटीबाट सरकारी टोली प्रस्थान गर्ने प्रचलन कायमै छ । जुम्ला जिल्ला प्रशासन कार्यालयको टोली नागपञ्चमीका दिन बडिमालिकातर्फ प्रस्थान गर्ने परम्परा छ ।

डोटीबाट अमरसिंह थापाकै पालादेखि नै बडिमालिकामा ‘पेटारो’ पठाउने चलन छ । सरकारी पूजा सामग्रीलाई पेटारो भन्ने चलन छ । सिलगढीबाट १५ दिनमा बडिमालिका पुग्ने प्रचलन रहिएकाले श्रावण प्रतिपदाका दिन सदरमुकाम सिलगढीबाट पूजा टोली बडिमालिका प्रस्थान गर्ने गरेको डोटीका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । यस वर्ष साउन २१ गते सरकारी टोली पूजा सामग्रीका साथ सिलगढीबाट बडिमालिका प्रस्थान गरेको उपाध्यायले बताए ।

डोटीको पेटारोमा दीपायलको भुरुडी (धानको पात) र अछामको वैद्यनाथको अक्षता समावेश गर्ने प्रचलन छ । डोटी जिल्ला प्रशासनबाट यो वर्ष जिल्ला अनुसन्धान कार्यालयका रेसम अधिकारीसहित दुई जनाको औपचारिक सरकारी टोली र अन्य तीर्थयात्री सामेल रहेको सहायक प्रजिअ उपाध्यायले बताए । टोलीद्वारा जिल्ला प्रशासन कार्यालयमा विशेष पूजापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामीसहित बिदाइ गर्ने चलन छ । त्यसपछि सिलगढीस्थित शैलेश्वरी र मालिका मन्दिरमा पूजापछि उक्त टोली बडिमालिकातर्फ अघि बढ्छ ।

उहिले अहिले जस्तो सडक यातायातको सुविधा थिएन । डोटीको टोली १५औं दिनमा बडिमालिका पुग्ने परम्परा थियो । त्यस क्रममा निश्चित ठाउँमा बास बस्दै, बाटोमा पर्ने निश्चित मन्दिरमा अनिवार्य पूजा गर्नैपर्ने मान्यता थियो । अहिले सडक सुविधा भएपनि त्यही चलन कायम राखिएको छ । १५ औं दिनमा मात्र टोली बडिमालिका पुग्छ । सिलगढीबाट हिँडेको पूजा टोली पहिलो दिन डोटीकै पूर्वीचौकी गाउँपालिका–१ फुलौट, दोस्रो दिन पूर्वीचौकी–५ को धानुकाँडा, त्यसपछि अछामको मार्कु, अर्को दिन अछामको प्रशिद्ध धार्मिकस्थल वैद्यनाथ धाम हुँदै अछामको बिमकोटमा पूजाआजा, त्यही मार्ग हुँदै बाजुराको छतारास्थित लवाडुंग्रामा तीन दिन पूजाआजा गरिसकेपछि बडिमालिकातर्फ अघि बढ्ने प्रचलन कायम रहेको सहायक प्रजिअ उपाध्यायले बताए ।

अर्कोतर्फ जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि रहेको दरबार मालिका मन्दिरमा डोलीको पूजा गरेर यात्रा सुरु हुन्छ । त्यस क्रममा नेपाली सेनाको एक टुकडीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरबार मालिकाको सलामी अर्पण गरेपछि बडिमालिकामा पूजा गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गर्ने परम्परा छ ।

बडिमालिका पूजाका लागि डोली पठाउने दिन सदरमुकाम खलङ्गामा स्थानीयले ध्वजा, अक्षता नासो पठाउन गर्दछन् । मनको इच्छा पुरा हुने जनविश्वासका आधारमा त्यस दिन खलङ्गामा पर्व सरह चहलपहल हुन्छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मीनबहादुर रावल नेतृतवको टोलीलाई जिल्लास्थित उच्च पदस्थ कर्मचारी र जनप्रतिनिधिहरुले पूजा टोलीलाई बिदाई गरेर यो वर्ष जुम्लाको डोली प्रस्थान गरेको थियो ।

उक्त सरकारी टोली १८ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पूजा गरेर जुम्ला सदरमुकाम खलङ्गामै फर्किने धार्मिक परम्परा छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार यस वर्ष पनि साउन २५ गते नाग पञ्चमीका दिन जुम्लाबाट हिँडेको टोली नवौं दिनमा शनिबार साँझ बडिमालिका मन्दिर पुगेको थियो ।

कालिकोट जिल्लाबाट औपचारिक पूजा टोली नआउने भएपनि जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीको टोली भने परिचालन गर्ने गरेको छ । यता बडिमालिका अवस्थित बाजुरा जिल्लाबाट पनि जिल्ला प्रशासन कार्यालयले औपचारिक रुपमा सरकारी पुुजा टोली पठाउने गरेको छ । यस वर्ष सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलको नेतृत्वमा पाँच जनाको सरकारी पूजा टोलीलाई पञ्चेबाजा र पञ्चकन्यासहित जिल्ला प्रशासन कार्यालय अगाडिको खुलामञ्चमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले सलामी दिएर बिदाइ गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

बाजुराको टोली तीन दिनमा बडिमालिका पुग्ने प्रचलन रहेको बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्काले बताए । सबै जिल्लाबाट सरकारी पूजा टोलीसहित बडिमालिका तीर्थयात्रामा आउने भक्तजनहरु यस वर्ष शुक्रबार त्रिवेणीमा पुगेका थिए । शुक्रबार त्रिवेणीमा बास बसेपछि शनिबार बिहान स्नान गरेर साँझ बडिमालिका पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोरखनाथको पूजा पहिला, त्यस क्रममा डोटीको पेटारो चढाइएपछि जुम्ला चन्दननाथको डोली पूजाको पालो आउँछ । त्यसको अघिल्लो दिन बाजुरामा रहेका बडिमालिकाका मूल पूजारीले लिने आशागुर्जा (चाँदीका पूजा भाँडा) र कालिकोटका ब्राम्ह्रणहरुले लिने छत्रको पूजा गर्ने चलन छ । त्यसपछि पूजाजल लिएर पूजारीहरु बडिमालिका मन्दिरतर्फ प्रस्थान गरेको पूजारी परिवारका अग्रज भानुभक्त पाध्यायले बताए ।

बडिमालिका मन्दिरमा प्राचीनकालदेखि नै मेला लाग्ने र पूजाआजा हुँदै आएको छ । बडिमालिका मन्दिरका हालका पूजारी नेत्रराज पाध्यायका अनुसार आफ्नो परिवारका १४ पुस्ता अघिदेखि पूजा भइरहेको अभिलेख छ । वि.सं १८८३ मा राजा रणबहादुर शाहद्वारा बडिमालिकालाई राष्ट्रिय धार्मिक आस्थाको क्षेत्रका रुपमा लालमोहर लगाएर प्रमाणित गरेका थिए । राजा रणबहादुर शाह स्वयंले पनि बडिमालिकाको दर्शन गरेको भनाइ छ ।

आइतबार बिहान बडिमालिका पूजा सकेर सबै टोली फर्किएका छन् । बडिमालिकाबाट फर्केर उनीहरु आइतबार साँझ त्रिवेणी नगरपालिकाको नाटेश्वरी पुगेका छन् । बडिमालिका दर्शन गरिसकेपछि बाजुराको त्रिवेणी नगरपालिकास्थित नाटेश्वरी भगवतीको दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहिआएको बडिमालिकाका पूजारी उपाध्याय बताउँछन् । रक्षाबन्धनको दिन नाटेश्वरीमा पूजाआजा गरिसकेपछि तीर्थालुहरु आ–आफ्ना गन्तव्यतर्फ फर्किने प्रचलन छ ।

बडिमालिका धार्मिक आस्थाले भरिपूर्ण तीर्थस्थल हो । स्कन्दपुराणमा मानसरोवरको दर्शन गरेपछि बडिमालिकाको दर्शन अनिवार्य रहेको उल्लेख छ । यहाँ पुगेर पूजा गरेपछि इच्छाएको वरदान प्राप्त हुने जनविश्वास रहेको मुल पूजारी नेत्रराज पाध्याय बताउँछन् ।

समुद्री सतहदेखि ४ हजार २ सय १६ मिटर उचाइमा रहेको बडिमालिकामा मनमोहक त्रिवेणी क्षेत्र, २२ वटा विशाल पाटन (फाँटहरु), ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूलहरु, त्रिवेणी, विष्णुपानी, खेतीवेती, लौरी विनायक, धर्मद्वार बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थलहरु हुन् । खेतीबेतीमा परापूर्वकालदेखि खेत रोपिएको, धान रोप्नका तयार गरिएका गह्राहरु, त्यसबीचमा फालिएका बीउँका मुठाहरु जस्ताका त्यस्तै रहेको अनौठा दृष्य छन् । हिउँ पर्ने बेला त्रिवेणी पाटनमा हिउँचिप्लेटी (आइस स्केटिङ)को सम्भावना छ । यो क्षेत्र जैविक विविधतामा समेत अत्यधिक धनी मानिन्छ । सयौं प्रजातिका जडीबुटी यहाँ पाइने वन प्राविधिकहरु बताउँछन ।

यहाँको प्राकृतिक सौन्दर्यले जो कसैलाई लोभ्याउँछ । ४० जनाको समूहका साथ दैलेखको आठबीस नगरपालिकाबाट बडिमालिका पुगेका प्रकाश तिमिल्सिनाले भने, ‘बडिमालिकाको सुन्दरता अवर्णनीय छ । अद्भूत छ ।’

बडिमालिकाको पूजा व्यवस्थापनका लागि बाजुरास्थित बडिमालिका र त्रिवेणी नगरपालिकाले संयुक्त रुपमा कार्य गरेको बताएका छन् । बडिमालिका प्रस्थान गर्ने सहज बाटो बडिमालिका नगरपालिकास्थित सदरमुकाम मार्तडी र कोर्द क्षेत्रबाट पर्दछ भने फर्किने क्रममा त्रिवेणी नगरपालिका भएर आउनु पर्दछ । दुवै नगरपालिकाले जिल्ला अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन, बडिमालिका क्षेत्रमा संकेत चिन्हहरु राख्ने, स्वयंसेवक परिचालन गर्ने कार्य गरेका छन् ।

त्रिवेणी नगरपालिकाले नाटेश्वरीमा भक्तजनहरुलाई त्रिपाल व्यवस्थापन, नाटेश्वरी जाने सडक सुधार, नाटेश्वरीमा धर्मशाला व्यवस्थापन गरेको कार्यकारी प्रमुख चिरञ्जीवी शाहले बताए । यस्तै बडिमालिका नगरपालिकाले मार्तडीबाट बडिमालिका जाने गोरेटो बाटो मर्मत, अस्थायी शौचालय, बासुधारामा पानी प्रबन्ध गरेको नगरप्रमुख अमर खड्काले बताए । ‘प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सिकिस्त बिरामीलाई हवाई उद्दार गरायौं,’ नगर प्रमुख खड्काले भने ।

सरकारले बडिमालिकाको धार्मिक तथा प्राकृतिक पर्यटन विकाका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै यहाँको सम्भावनालाई स्थापित गर्न सके समग्र सुदूरपश्चिमले पर्यटन क्षेत्रबाट स्वरोजगार हुनसक्ने सम्भावना रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । बाजुरास्थित बडिमालिकाका नगर प्रमुख खड्का र त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा आफूहरुले अनेक प्रयत्न गर्दा पनि संघ र प्रदेश सरकार कसैले बडिमालिका क्षेत्रको पर्यटन विकासका लागि आवश्यक महत्त्व नदिएको बताउँछन् । कान्तिपुरबाट