April 30, 2026, Thursday
२०८३ बैशाख १७

महिला एसिया कप : नेपालसामु सेमिफाइनलको अवसर, नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्दै

काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्ने भएका छन् । नेपालले आज साँझ ७ः१५ बजे आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्ने भएको हो ।

यसअघिका दुई संस्करणमा खेलेका सबै ८ खेलमा पराजित नेपालसामु महिला एसिया कप क्रिकेटको सेमिफाइनल पुग्ने समीकरण छ । नेपालले आइतबार राति पाकिस्तानको सामना गर्नेछ । नेपालले जित हात पारेमा समूह चरण पार गर्ने लगभग निश्चितजस्तै हुनेछ ।

नेपालले बिहीबार पहिलो खेलमा यूएईमाथि ६ विकेटको विजय हात पारेपछि अंकतालिकामा केही सहज देखिएको हो । ओपनर सम्झना खड्काले रनगिरी दम्बुला क्रिकेट रंगशालामा अविजित ७२ रन बनाएपछि नेपालले १ सय १६ रनको लक्ष्य १६.१ ओभरमै पूरा गरेको थियो । नेपालले एसिया कपमा जितेको खेल नै यो पहिलो थियो ।

तर दुई पटक उपविजेता पाकिस्तानलाई हराउन नेपाललाई त्यति सजिलो छैन । सन् २०१६ मा थाइल्यान्डमा भएको एसिया कपमा पाकिस्तानले नेपाललाई ४७ रनमा अलआउट गरेको थियो ।

पाकिस्तान भने बिहीबार आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग ७ विकेटले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको पाकिस्तान १९.२ ओभरमा १ सय ८ रनमै अलआउट भएको थियो । भारतले १४.१ ओभरमै लक्ष्य पूरा गरेको थियो ।

समूह ‘ए’ मा भारतले आइतबार पहिलो खेलमा यूएईको सामना गर्नेछ । भारत र नेपालले आ–आफ्नो खेल जितेमा दुबै टोली सेमिफाइनल पुग्नेछ ।

भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने युएई पहिलो जितको खोजीमा हुनेछ । यो खेल आज दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै युएई छ ।  त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।