May 12, 2025, Monday
२९ बैशाख २०८२, सोमबार

चरम गर्मीका कारण भारतमा ३७१ बढीको मृत्यु

काठमाडौं । चरम गर्मीका कारण भारतमा ३७१ भन्दा बढीको मृत्यु भएको छ । भारतमा बेवारिसे व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलमपेन्टका अनुसार धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् ।

मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् । हुन त मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइन्छ । तर चिकित्सकहरुले पनि अत्यधिक गर्मी र लुकै कारण भारतमा मानिसहरुको ज्यान गइरहेको बताएका छन् । अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ ।

सेन्टर फर होलिस्टिक डेभलमपेन्टले जुन ११ देखि जुन १९ को बीचमा नयाँदिल्लीमा अत्यधिक गर्मीका कारण १९२ जना बेघर व्यक्तिहरुको मृत्यु भएको जनाएको छ ।

यसैगरी उत्तर प्रदेशमा १८ जुनमा मात्रै १७० जनाको मृत्यु हिट स्ट्रोकका कारण भएको थियो । उत्तर प्रदेशका धेरैजसो राज्यहरुमा अधिकतम तापक्रम ४७–४८ डिग्री सेल्सियससम्म पुगेको थियो ।

१९ जुनको राति आँधीपछि परेको पानीका कारण गर्मीमा थोरै राहत मिलेको थियो । तर हिट स्ट्रोकका कारण बिरामी परेकाहरु अहिले पनि अस्पतालमा उपचाररत छन् । अस्पतालहरुमा शय्या अभाव भएपछि भुइँमै राखेर पनि उपचार गराउनु परेको छ ।

बिरामीको चाप थेग्न नसकेपछि गम्भीर अवस्थाका बिरामीलाई मात्र अस्पतालमा भर्ना गरेर अन्यलाई औषधि दिएर घर पठाउने गरिएको छ ।

मनसुन भित्रिनु अघिसम्म भारतका अधिकांश शहरमा अत्यधिक गर्मीले जनजीवन नराम्रोसँग प्रभावित भएको थियो । कतिपय शहरमा अधिकतम तापक्रम ५० सम्म पुगेको समाचारहरु सार्वजनिक भएका थिए ।

गर्मीका कारण कतिपयले बाटोमा हिँड्दाहिँड्दै ज्यान गुमाएका छन् । सवारी साधनका चालक र कण्डक्टरहरुको पनि ज्यान गुमेको छ । भारतको परिवहन निगमका तीन चालक र एक कन्डक्टरको यात्राको क्रममा मृत्यु भएको छ । यस्तो मृत्युको सर्वाधिक आँकडा गाजियावादमा छ । त्यहाँ १८ जुनमा ३० र १९ जुनमा १४ जनाको मृत्यु भएको थियो ।

मृत्युको बढ्दो संख्याका कारण चिहान घाट, शवदाहगृह र पोष्टमार्टममा समेत पालो कुर्नुपर्ने बाध्यता छ । नायडा, गाजियावाद, प्रयागराजमा यस्तो स्थिति छ । प्रयागराजमा १८ जुनको दिन एसआरएन अस्पतालमा शव राख्ने फ्रिजहरु भरिएपछि बाहिरै शवको खात लगाएर राखिएको थियो ।

अमर उजालाको एक रिपोर्ट अनुसार १८ जुनमा प्रयागराज शहरका अलग अलग शवदाह गृहमा यति धेरै शवहरु ल्याइएको थियो कि सडकसमेत जाम भएको थियो । त्यहाँका चार प्रमुख श्मशान घाटमा २४ घण्टाको अवधिमा ४०० धेरै शव अन्तिम संस्कारका लागि ल्याइएको थियो । ती शवहरु वृद्धवृद्धा र युवाहरुको समेत थियो ।

बेवारिसे शवको अन्तिम संस्कार गराउँदै आएकी लखनउकी समाजसेवी वर्षा बर्माले भनेकी छन्, ‘एक महिनायता बेवारिसे शवको संख्या तीन गुणाले बढेको छ । यद्यपि सबैको मृत्यु गर्मीकै कारण भएको भन्न त सकिन्न तर मृतकको संख्या बढ्नुको एक प्रमुख कारण गर्मी पनि हो ।’