May 2, 2026, Saturday
२०८३ बैशाख १९

५४३ क्षेत्रकै नतिजा आउँदा भाजपा गठबन्धनले जित्यो २९३ सिट, कुन दलले कति सिट जिते ?

काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएकोमा बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको हो।

निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जितेको छ ।

गुजरातको सुरत लोकसभा सिटमा भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यहाँ कंग्रेसको उम्मेदवारी रद्द भएपछि अन्य दल र स्वतन्त्रहरूले उम्मेदवारी फिर्ता लिएका थिए।

यसपालि भाजपा एनडिए र कंग्रेस आईले इन्डिया गठबन्धन बनाएर चुनावमा होमिएका थिए। भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ । सन् २०१९ मा भाजपा एक्लै ३०३ सिटका साथ बहुमत हासिल गरेको थियो ।

सन् २०१९ मा ५२ सिटमा सीमित भएको कांग्रेस एक्लैले ९९ सिट जितेको छ । समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेका छन् । त्रिणमुल कांग्रेस (टीएमसी)ले २९ सिट जितेको छ ।

हुमतका लागि २७२ सिट जित्नुपर्ने भए पनि कुनै पनि दलले एकल बहुमत हासिल गर्न सकेनन् । यद्यपि भाजपा सबैभन्दा ठूलो दल बनेकाले उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने छ । सरकारको नेतृत्व भने भाजपाका नेता नरेन्द्र मोदीले नै गर्ने छन् ।

चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ४ सय सिट जितेर पुन सरकार चलाउने दाबी गरेका थिए। विभिन्न एक्जिट पोलहरूले पनि मोदी नेतृत्वको गठबन्धनले चार सय हाराहारीमा सिट ल्याउने दाबी गरेका थिए।

परिणाम आउँदा भने ती सबै दाबीले फेल खाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार ५४३ क्षेत्रको नतिजा आउँदा एनडिए गठबन्धनले २९५ र इन्डिया गठबन्धनले २३१ सिट सिट जितेको छ। १७ सिट अरू दलहरूले जितेका छन्।

यो भनेको भाजपा नेतृत्वको एनडिएले जितेको सिट अघिल्लो चुनावमा भन्दा ५७ सिट कम हो। भारतको चुनाव आयोगअनुसार भाजपाले २४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जेडियुले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सिपिआईएले ४/४ सिट जितेका छन्।

आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३, जनसेना पार्टीले २ सिट जितेका छन्। बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

२०१४ देखि एकल बहुमतको सरकार चलाएको मोदीले यसपालि गठबन्धनमा रहेका दलहरूलाई लिएर सरकार बनाउनुपर्नेछ। इन्डिया गठबन्धनले यसपालि सरकार बनाउन पहल गर्ने कि विपक्षमै बस्ने भन्ने निर्णय गर्न आज बैठक बस्दैछ।

मोदीले गरे नेहरुसँग बराबरी

मोदीले सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने बताएका हुन् । ‘सन् २०२४ मा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका छन् । नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ नड्डाले भनेका छन् ।

मोदी भारतमा लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन् । यसअघि यस्तो रेकर्ड जवाहर लाल नेहरुको नाममा छ ।