May 2, 2026, Saturday
२०८३ बैशाख १९

प्रधानमन्त्री मोदी वाराणसीबाट विजयी, १५० क्षेत्रको मतपरिणाम आउँदा कसले कति सिट जिते ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा चुनावमा वाराणासीबाट विजयी भएका छन् । प्रधानमन्त्री मोदीको यो वाराणासीबाट लगातार तेस्रो जीत हो ।

मोदीले कांग्रेस उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ५१३ मतले पराजित गरेका छन् । उनी यसपटक सबैभन्दा कम मतान्तरले विजयी भएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रधानमन्त्री मोदीले ६ लाख १२ हजार मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार अजय रायले ४ लाख ६० हजार मत ल्याएका छन् । २०१९ को चुनावमा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरका साथ जीत निकालेका थिए ।

भारतमा मंगलबार बिहानदेखि लोक सभा निर्वाचनको मतगणना भइरहेको छ। मंगलबार साँझ सात बजेसम्मको परिणामअनुसार भाजपा नेतृत्वको एनडिएले अग्रता लिइरहेको छ।

अहिलेसम्म एनडिएले ९३, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले ५१ र अन्य दलले ६ सिट जितेका छन्। एनडिए १९७, इन्डिया गठबन्धन १८४ र अन्य दल १२ सिटमा अग्रता लिइरहेका छन्। लोक सभा ५४३ सिटको हो। भारतमा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ।

एग्जिट पोलमा भारतीय जनता पार्टी (भाजपा) एकल बहुमत र ऊ नेतृत्वको एनडीए गठबन्धनलाई साढे ३ सयमाथि सिट मिल्ने अनुमान थियो । तर ती पूर्वानुमानलाई फेल खुवाउँदै प्रतिपक्षी दलहरु सशक्त रुपमा कमब्याक गर्न सफल भएका छन् ।

अधिकांश एग्जिट पोलमा एनडीएलाई ३५० भन्दामाथि सिटहरु दिइएको थियो । केही एग्जिट पोलको नतिजामा त एनडीएलाई ४०० को आँकडा छुने भनिएको थियो ।

एग्जिट पोलको नतिजा सार्वजनिक भएको ठीक तीन दिनपछि देखिएको चुनावी नतिजाहरुले भने सबैलाई चकित तुल्याइदिएको छ । अहिलेसम्मको मतगणनाको आंकडा हेर्दा भजपालाई ठूलै झड्का लागेको देखिन्छ ।

उत्तर प्रदेश, पश्चिम बंगाल, पञ्जाव, हरियाणा, राजस्थानमा भाजपा नराम्रोसँग पछि परेको छ । उता कांग्रेस, समाजवादी पार्टीसहित विपक्षमा रहेका कयौँ दलहरुले जबरजस्त ‘कमब्याक’ गरेका छन् ।