June 11, 2026, Thursday
२०८३ जेष्ठ २८

सुदूरपश्चिममा मन्त्रालय भागबण्डा टुंगियो, १०० दिनपछि मन्त्रिमण्डल विस्तारको तयारी

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सत्ता सम्हालेको १०० दिनपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्तारुढ गठबन्धनका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।
भागबण्डाअनुसार नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको जनाइएको छ ।
कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीन वटै दलले एक÷एकजना राज्यमन्त्री पनि पाउनेगरी भागबण्डा भएको छ । यस्तै अढाई वर्षपछि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्नेगरी सहमती जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए । उनले भने, ‘अढाइ वर्षपछि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने पनि सहमति भएको छ ।’
यसअघि मुख्यमन्त्रीको सपथ लिएपछि शाहले कांग्रेसबाटै प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आर्थिक मामिलामन्त्री नियुक्त गरेका थिए । ५३ सदस्यीय प्रदेशसभा रहेको यस प्रदेशमा ११ सदस्यीयसम्मको मन्त्रिमण्डल बनाउन सकिने व्यवस्था छ ।