April 18, 2026, Saturday
२०८३ बैशाख ५

गृहजिल्ला पुगेर बलायरले भने–डोटीको विकासमा पछि हट्दिनँ

दिपायलः नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले समाज र राजनीतिलाई सही बाटोमा डो-याउने दायित्व पत्रकारिताको भएको बताएका छन् । दिपायलमा आज नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास गर्दै बलायरले यस्तो बताएका हुन् ।
‘राजनीति र समाजलाई सही बाटोमा डो¥याउने पत्रकारको दायित्व हो,’ बलायरले भने,‘जसले समाजले दुःख र अप्ठेरो नभोगोस् । समाज र मुलुकको भलाईका लागि पत्रकारिताले भूमिका खेल्नुपर्दछ ।’ यस्तै पत्रकारिताको मर्यादा बचाउने दायित्व पनि पत्रकारकै हातमा रहेको उनले बताए ।
पूर्वमन्त्री समेत रहेका बलायरले पत्रकारमा स्वाभाविक रुपमा सिद्धान्त हुने पनि बताए । ‘पत्रकारसँग सिद्धान्त हुन्छ । सिद्धान्तबिहीन पत्रकार पत्रकार होइन । तर त्यो सिद्धान्त कहाँ प्रयोग गर्ने विवेक पनि पत्रकारमा चाहिन्छ,’ उनले भने ।
डोटी बलायरको गृहजिल्ला हो । बलायर दुई संविधानसभा सदस्य र २०७४ को प्रतिनिधिसभा निर्वाचन डोटीबाटै लडेका थिए । जसमध्ये २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए ।
२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन मा बलायर कैलाली–४ बाट चुनिएका सांसद हुन् । उक्त निर्वाचनपछि यसपटक उनी पहिलोपटक गृहजिल्ला आएका हुन् । ८ महिनापछि गृहजिल्ला आएको बताउँदै उनले आफू निर्वाचन जताबाट लडेपनि डोटीको विकास निर्माणका लागि पछाडि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।