शिखका लागि पञ्जाबमा छुट्टै देश हुनुपर्ने माग राख्ने अमृतपाल सिंह भारतमै पक्राउ परे

काठमाडौं । भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार सिंह मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेका हुन।
आइतबार बिहान भारतको पन्जाबबाट उनलाई पक्राउ गरिएको पन्जाब प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व सिंहले गरिरहेका थिए।
हिन्दुस्तान टाइम्सले प्रहरी स्रोतलाई उदृत गर्दै प्रकाशित गरेको समाचारअनुसार उनलाई आसामको दिब्रुगढ जेलमा पठाउने तयारी छ। सिंहले मोगा प्रहरीसमक्ष आत्मसर्पण गरेका थिए। उनलाई पन्जाब प्रहरीले हिरासतमा लिएको जनाएको छ।
अमृतपाल ३६ दिनदेखि फरार थिए। अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए। घटनापछि प्रहरीले उनलाई खोजिरहेको थियो।
त्यहाँ उनका अन्य सदस्यहरुलाई पहिले नै पक्राउ गरी राखिएको छ। गत चैत दोस्रो साता सिंह नेपालमा बसेको हुन सक्ने आशंका गर्दै काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकारसँग उनलाई विदेश जारी अनुमति नदिन आग्रह गरेको थियो। तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो ।
सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम थियो। भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन। विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए।
३० वर्षीय सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुन: जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ। त्यसलगत्तै विभिन्न देशमा खालिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ। केही समयअघि बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरुले भारतीय झण्डा निकालेर खालिस्तानको झण्डा फहराएका थिए।





प्रतिकृया दिनुहोस्