April 18, 2026, Saturday
२०८३ बैशाख ५

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा

धनगढी । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले धनगढी आइपुगेका छन्। चौथाईवालेलाई सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्वागत गरेका छन् । 

सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आइतबार धनगढी आइपुगेका हुन्। 

वैशाख २ गतेदेखि धनगढीमा सुरु भएको मानसखण्ड सम्मेलनको समापन समारोहमा सम्बोधन गर्न सडकमार्ग हुँदै नेपाल आएका प्रमुख चौथाईवालेलाई मुख्यमन्त्री शाह, सुदूरपश्चिमका भौतिक योजना मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री नरेश शाहीले स्वागत गरेका थिए ।

सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविधालय, भारत उत्तराखण्डको कुमाउ विश्व विद्यालयको संयुक्त आयोजनामा भइरहेको मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहको प्रमुख वक्ताका रूपमा चौथाइवाले नेपाल आएका हुन् ।

सो कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ एवं सांसद आरजु देउवा राणा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुने आयोजक पक्षले जनाएको छ।

चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र सोमबार काठमाडौँ पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आइपुगेका हुन्।