April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच भेटवार्ता, विश्वासको मत लिने तयारी

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहबीच भेटवार्ता भएको छ । विश्वासको मत तथा सुदूरपश्चिम सरकारबारे प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच बालुवाटारमा आइतबार साँझ भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको हो ।

सचिवालयका अनुसार भेटघाटका क्रममा समसामयिक राजनीतिक घटनाक्रम, प्रदेश सरकारले लिने विश्वासको मत र यस क्षेत्रको विकास र समृद्धिमा केन्द्रिय सरकार र प्रदेश सरकार मिलेर गति दिने बारे छलफल भएको जनाएको छ ।

भेटघाटपछि मुख्यमन्त्री शाहले भने, ‘सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो । हिजोको गठबन्धन अगाडि बढाएकोमा मैलै उहाँलाई बधाई पनि दिए । विश्वासको मत लिने कुरामा छलफल भयो । सकारात्मक प्रतिक्रिया पाए । अब शीर्ष नेताहरुबीचको थप छलफलपछि विश्वासको मत लिने मिति पनि तय होला ।’

मुख्यमन्त्री शाह भोलि सोमबार प्रदेश राजधानी धनगढी फर्किँदै छन् । सम्भवतः उनी १६ या १७ गते विश्वासको मत लिने तयारीमा रहेको बताइएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले निरन्तरता पाउने सुनिश्चित भएको छ । संघमा फेरिएको समीकरणका कारण सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित रहने निश्चित भएको हो ।

फागुन १२ गते पूर्वको राजनीतिक समीकरणले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना न्यून थियो । त्यसताका उनलाई आफ्नै दल नेपाली कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा गरी जम्मा २४ को मात्रै साथ थियो । जुन कारण उनी डेन्जर जोनमा थिए ।

तर फागुन १२ गते राष्ट्रपति निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिलगायत दलबीचको समझदारीपछि उनी ग्रीन जोनमा छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका नेकपा एमालेका राजेन्द्र सिंह रावलले प्रदेश सभामा एक महिनाभित्र विश्वासको मत लिन नसकेपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री शाह नियुक्त भएका थिए । शाह माघ २६ गते नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य चाहिने हुँदा कांग्रेसलाई नागरिक उन्मुक्ति वा माओवादीको साथ चाहिएको थियो । पछिल्लो राजनीतिक समीकरणले उनीलाई बहुमत पुग्ने देखिएको हो ।