राष्ट्रसंघ र युरोपेली संघले गरे ट्विटरको आलोचना

न्युयोर्क सिटी । सामाजिक सञ्जाल ट्विटरले आफ्नो कम्पनीबारे समाचारहरू प्रकाशित गर्ने केही पत्रकारहरूलाई निलम्बन गर्ने निर्णय गरेकामा संयुक्त राष्ट्रसंघ र युरोपेली संघ (ईयू)ले आलोचना गरेका छन् । ट्विटरमा एकाउन्ट बन्द हुन पुगेकाहरूमा न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्गटन पोस्टका पत्रकारहरू पनि रहेका छन् ।
राष्ट्रसंघले ट्विटरमार्फत नै सञ्चार स्वतन्त्रता भनेको ‘एउटा खेलौना’ नभएको जनाएको छ ।
ईयूले भने ट्विटरमाथि नै प्रतिबन्ध लगाइदिने चेतावनी दिएको छ । ट्विटरका एक प्रवक्ताले एउटा अमेरिकी टेक न्युज वेबसाइटलाई लोकेसन डाटाको लाइभ सेरिङ गरेका कारण ती पत्रकारहरूलाई कारबाही गरिएको जानकारी दिएका छन् ।
विश्वव्यापी सञ्चारका लागि राष्ट्रसंघका महासचिव मेलिस्सा फ्लेमिङले भनेकी छन्, “पत्रकारहरूलाई अतार्किक रूपमा ट्विटरबाट निलम्बन गरिएको सूचना पाएर म निकै विचलित हुन पुगेको छु । सञ्चार स्वतन्त्रता भनेको कुनै खेलौना होइन । स्वतन्त्र प्रेस प्रजातान्त्रिक समाजको आधारशीला र हानिकारक तथा भ्रामक सूचनाविरुद्ध लड्ने एक प्रमुख उपकरण हो ।”
यसअघि, शुक्रबार ईयूका आयुक्त भेरा जोरोभाले युरोपको नयाँ डिजिटल सेवा कानुनानुसार ट्विटरमाथि प्रतिबन्ध लगाइदिने चेतावनी दिएकी थिइन् । सो कानुनानुसार सञ्चार स्वतन्त्रता र मूलभूत अधिकारको सम्मान गरिनुपर्छ ।
उनले भनेकी थिइन्, “ट्विटरका मालिक एलोन मस्क उक्त कानुनप्रति सचेत हुनु बेस हुनेछ । त्यहाँ लालरेखाहरू छन् । र, चाँडै प्रतिबन्ध पनि लाग्न सक्छ ।” बीबीसीबाट ।





प्रतिकृया दिनुहोस्