अमेरिकी निर्वाचनमा २ नेपाली उम्मेदवार

काठमाडाैं- अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तवरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ ।
यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पछ्याउँदै राजनीतिमा सक्रिय हुन र उम्मेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि संघर्षका अनेक कथा जोडिएका हुन्छन् ।
कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा भने पहिलो पिँढीका दर्जनभन्दा बढी अमेरिकाको विभिन्न एकाइको निर्वाचनमा होमिएका छन् । यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब केवल २ हप्ताभन्दा कम मात्र बाँकी रहेको छ । निर्वाचनमा नेपाली मूलका २ जना प्रतिस्पर्धामा रहेका छन् ।
प्रतिस्पर्धा गर्नेमा मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका डा. ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिस्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्बलीको लागि सहना श्रेष्ठ छन् । भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात् प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बनेका हुन् । सहनाले २३ वर्षदेखि सोही पार्टीका बहालवाला डेलिगेटलाई हराएर प्राइमेरी निर्वाचनमा जीत हासिल गरेर एउटा अलग्गै इतिहास रच्न सफल भएकी छन् ।
सन् २००१ मा अध्ययनको लागि अमेरिका आएकी सहनाको राजनीतिक यात्रा रोचक छ । उनले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिएकी थिइन् । सन् २०२१ मा उमेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जीत हासिल गरेसँगै उनी डेमोक्र्याट पार्टीको तर्फबाट आगामी नोभेम्बर ८ तारिखको लागि निर्वाचनमा होमिएकी छन् ।
भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन् । उनले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्र्याट पार्टीको तर्फबाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाएका हुन् । भण्डारी मेरिल्याण्डको जनरल एसेम्बलीमा आफ्नो ४ वर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले चुनावी मैदानमा छन् । सन् २०२० को जनगणनापश्चात गरिएको निर्वाचन क्षेत्र हेरफेरको कारणले चुनौती थपिएको उनको भनाइ छ ।
उनको निर्वाचन क्षेत्र पर्पल डिस्ट्रिक अर्थात डेमोक्र्याट र रिपब्लिकन पार्टी दुवैले जीत हासिल गर्न सक्ने सचेत मतदाताको बाहुल्यता भएको क्षेत्र हो । यसले गर्दा मतदाताले उम्मेदवारको कार्ययोजना र कार्यशैलीलाई हेरेर मतदान गर्नेछन् । भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो कार्ययोजना सहितका विवरण र विगतमा आफूले गरेको कामको फेहरिस्त लिएर मतदाताको घरदैलोमा पुगेका छन् ।
उनले सन् २०१८ मा व्यक्त गरेको प्रतिबद्धताअनुसार स्थानीय विद्यालयमा विद्यार्थीको चाप बढी भएको नागरिकको गुनासोलाई सम्बोधन गर्दै आफ्नो क्षेत्रमा थप ३ विद्यालय स्थापना गरेका थिए । यसले उनको लागि सकारात्मक वातावरण निर्माण भएको छ । उनको क्षेत्रमा ३ जनाले प्रतिनिधित्व गर्दैछन् ।
भण्डारीले भन्छन्, ‘मैले मेरो क्षेत्रका मतदातासँग गरेको प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रमा पर्याप्त बजेट ल्याउन सफल भएको छु ।’ करीब ४ करोड ७० लाख डलर रकम बराबरका विद्यालयहरू मेरो क्षेत्रमा निर्माणाधीन रहेका छन् ।
मेरिल्याण्ड राज्यको जनरल एसेम्बलीमा हेल्थ एण्ड सरकार सञ्चालन कमिटीमा बसेर काम गरेका भण्डारी आफ्नो ४ वर्षे कार्यकालको अनुभवले धेरै कुरा सिकाएको बताउँछन् । उनी भन्छन्, ‘एउटा सार्वजनिक पदधारण गरेको नाताले र निर्वाचित जनप्रतिनिधि भएको नाताले हेल्थ केयरका कतिपय विषयमा हामी मिलेर धेरै काम गर्यौं । यसले मेरिल्याण्ड राज्यलाई महामारी व्यवस्थापनमा अब्बल सावित गराउन सफल पनि भयो । महामारीको बेलामा गभर्नरको कार्यालय र हाउस मिलेर नागरिकका समस्या सम्बोधन गर्न र महामारीको समयमा धेरै काम गयौं ।’
समितिमा वसेर लङ्ग टर्म केयर, ज्येष्ठ नागरिकको लागि स्वास्थ्य सेवाको पहुँच जस्ता धेरै विषय समेटिएका १४ वटा विधयेक पास गराउन सकेकामा आफ्नो कार्यकाल सफल भएको भण्डारी टिप्पणी गर्छन् ।
नेपाली समुदायका लागि पनि धेरै काम गर्न सकेको बताउँदै उनी भन्छन्, ‘कोरोनाको महामारीको बेलामा कतिपय स्थानमा मृत्युवरण गरेका नेपालीको अन्तिम संस्कार गर्नको लागि म उपस्थित भएको थिएँं ।’ दिवंगत नेपालीको शव व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेका भण्डारीले कोरोना महामारीको बीचमा १ हजार ५०० नेपालीको बेरोजगार फर्म भर्न समेत कार्यालयमार्फत काम गरेका थिए । भण्डारी अझै पनि नेपाली समुदाय अमेरिकामा देखिने र सुनिने समुदायको रूपमा नआएको बताउँदै राजनीतिक सामाजिक एकीकरणको पक्षमा आफूले समन्वय गर्न सकेको बताउँछन् ।
भण्डारीले नेपाली अमेरिकीको सहभागितामा सञ्चालित २ सामुदायिक भवनको पुनःसंरचना गर्न र सर्भिसेज रुमहरूको निर्माणका लागि भनेर ५ लाख ५० हजार डलर बराबरको रकम लेजिस्लेटिभ वण्डमार्फत राज्य सरकारको कोषबाट रकम उपलब्ध गराएका छन् । सन् २००८ मा तत्कालीन राष्ट्रपतिका उम्मेदवार बाराक ओबामाको चुनावी अभियानमा स्वयंसेवक बनेका भण्डारीले यो १४ वर्षको बीचमा धेरै कुरामा पहुँच राख्न सकेका छन् ।
मेरिल्याण्ड राज्यको शिक्षा क्षेत्रमा कार्यरत रहेका भण्डारी अपराह्न ३ बजेसम्म कक्षा कोठामा नै विद्यार्थीलाई अध्यापन गराउने गर्छन् । उनी भन्छन्, ‘मैले आफ्नो पेशालाई पनि निरन्तरता दिइरहेको छु र चुनावी अभियान पनि टीममार्फत व्यवस्थित तरिकाले सञ्चालन गरिरहेको छु ।’
भण्डारी दोस्रो कार्यकालको लागि उम्मेदवार बनेका छन् । उनले यसपटक जीत हासिल गरेको खण्डमा दोस्रो कार्यकाल अमेरिकाको मूलधारको राजनीतिमा विजय हुने उनी एक मात्र व्यक्ति हुनेछन् ।
उता सहना श्रेष्ठले न्यूयोर्कको १०३ नम्बरको डिस्ट्रिकमा डेमोक्र्याट पार्टीको विगत २ दशकदेखि प्रतिनिधित्व गर्दै आएकी बहालवाला सांसदलाई प्राइमेरी निर्वाचनमा पराजय गरेकी हुन् । उनको पहिलो पटकको राजनीतिक यात्राले नै नयाँ उचाइ हासिल गर्न सकेको छ । पर्यावरणको क्षेत्रमा काम गर्ने श्रेष्ठले आफ्नो चुनावी अभियानमा कुनै पनि कर्पोरेट कम्पनीबाट चन्दा नलिने उद्घोष गरेकी छन् । उनी ऊर्जाको दर कम र शतप्रतिशत नवीकरणीय ऊर्जा भन्ने नाराका साथ चुनावी अभियानमा होमिएकी छन् । यी नारा तय गर्नुमा आफ्नो स्थानीय नागरिकको समस्या सम्बोधन गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘यो न्यूयोर्कको सेन्ट्रल हडसन क्षेत्रका नागरिकले चर्को दरको विद्युत् उपयोग गर्नुपरेको छ । यसलाई मैले मुख्य मुद्दा बनाएको छु । मेरो सोच भनेको विद्युत् सेवाप्रदायकहरू निजी क्षेत्रबाट सरकारी क्षेत्रमा लानुपर्छ भन्ने हो । यसको लागि कतिपय बिलहरू बनाउनुपर्ने हुन्छ, यसमा सामूहिक सहकार्यबाट मात्र सम्भव रहन्छ ।’
उनको चुनावी अभियानमा युनिभर्सल हेल्थ केयर जसमा मानसिक स्वास्थ्य, दीर्घकालीन हेरविचार र प्रजनन् हेरचाह लगायतका विषय समावेश गरिएको छ । उनलाई अमेरिकाको राजनीतिमा प्रगतिशील एजेण्डाका साथ उदाएकी कंग्रेस सदस्य अलेक्ज्याड्रिय कोर्टेजले सहयोग गरेका छन् ।
उनी लगायत न्यूयोर्क राज्यका ४ एसेम्बली सदस्य र २ स्टेट सिनेटरले पनि श्रेष्ठलाई समर्थन गरेकाले उनको विजयलाई बल पुर्याएको छ ।
सन् २००१ मा कम्युटर ग्राफिक्स अध्ययन गर्न अमेरिका आएकी सहनाले २०१९ मा अमेरिकाको नागरिकता लिएकी थिइन् । सहना भन्छिन्, ‘मैले उम्मेदवार हुने सोच बनाएको १ वर्ष भयो । यहाँको समुदायले गरेको सहयोगको कारण मैले प्राइमरी निर्वाचनमा सफलता हासिल गर्न सकेको हुँ ।’
उनी आफ्ना पतिसहित न्यूयोर्कको हडसन भ्यालीमा बस्दै आएकी छन् । उनी उल्सटर काउन्टीको मिड हडसन भ्याली च्याप्टरको डेमोक्रयाटिक सोसलिस्टस अफ अमेरिको सहअध्यक्ष समेत रहेकी छन् । श्रेष्ठ भन्छिन्, ‘यसले नै मलाई राजनीतिक यात्रामा योगदान दिएको हो ।’
यसपटकको निर्वाचनमा २ जना मात्र निर्वाचनको मैदानमा भए पनि विगत वर्षहरूमा अनेकन राज्यहरूमा नेपालीले उम्मेदवारी दिँदै आएका छन् तर अहिलेसम्म संघीय सरकारमा प्रतिनिधित्व गर्ने गरी कसैले विजय हासिल गर्न भने सकेका छैनन् । यसरी अमेरिकाको राजनीतिमा होमिनेहरू दर्शन रौनियारले सन् २०१२ मा वाशिङ्गटन स्टेटको कंग्रेसनल डिस्ट्रिक १ बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए तर उनले प्राइमरी निर्वाचनमा नै पराजय भोगेका थिए ।
टेक्सास राज्यको हाउस अफ रिप्रिजेन्टेटिभमा डिस्ट्रिक ९२ बाट उम्मेदवार बनेका दिनेश शर्माले पनि यस पटकका लागि प्राइमरी निर्वाचनमा पराजयको सामना गरे । नेपाली अमेरिकन मतदाताहरूको राम्रो मत भएको स्थानमा पनि शर्माले जीत हासिल गर्न सकेनन् । राज्य तहको निर्वाचनबाहेक स्थानीय तह निर्वाचनमा नेपालीले जीत हासिल गरेका छन् । भर्जिनियाको हरडनको काउन्सिल मेनको रूपमा प्रदीप ढकाल कार्यरत छन् । यसैगरी मेरिल्याण्ड राज्यको इन्डियाना हेड सिटीको भाइस मेयरको रूपमा किरण सिटौलाले काम गरिरहेका छन् । उता कनेक्टिकट राज्यको वेडफर्डमा काउन्सिल मेनको रूपमा राम श्रेष्ठले काम गरिरहेका छन् ।
यसैगरी टेक्सासमा रहेको युलेस सिटीको काउन्सिल सदस्यको रूपमा टीका पौडेलले गत वर्ष भएको निर्वाचनमा विजयी हासिल गरेका थिए । यस्तै ओहायो राज्यमा रहेको भुवन प्याकुरेल काउन्सिल सदस्यको रूपमा काम गरेका छन् । प्याकुरेल भुटानी अमेरिकन छन् । प्याकुरेल आप्रवासन पुनःस्थापना अन्र्तगत अमेरिका आइपुगेका हुन् । उनले ओहायो राज्यमा सिटी काउन्सिलमा विजय हासिल गरेका छन् । प्याकुरेलले नेपाली भाषीको सेवामा आफूले काम गरेको बताए । – मधुकर अधिकारी/रासस





प्रतिकृया दिनुहोस्