May 2, 2026, Saturday
२०८३ बैशाख १९

चीनलाई बाइडेनको चेतावनी- ताइवानमा हमला गरे सैन्य हस्तक्षेप गर्छौं

वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको वर्तमान परिस्थितिलाई चीनको ताइवानमाथिको सम्भावित आक्रमणसँग जोडेका छन् । बाइडेनले चीनलाई ताइवानको विषयलाई लिएर ‘खतरासँग खेलबाड’ गरिरहेको चेतावनी दिएका छन् ।

साथै उनले चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने प्रतिवद्धता जनाएका छन् । 

जापान भ्रमणको क्रममा बोल्दै बाइडेनले एसिया क्षेत्रको लामो समयदेखिको अमेरिकी नीतिलाई अलि फरक ढंगले प्रस्तुत गर्न खोजेको देखिन्छ । यद्यपि ह्वाइट हाउसले अमेरिकाको नीतिमा कुनै परिवर्तन नहुने जनाएको छ । बाइडेनले रुसले युक्रेनमाथि गरेको आक्रमण र ताइवानबीच समानान्तर रेखा कोरेर बेइजिङलाई आक्रोशपूर्ण गाली गर्नका लागि उक्साएका छन् । 

राष्ट्रपति बनेयता उनी पहिलोपटक एसिया भ्रमण गर्दै क्षेत्रीय गठबन्धनसँग भेटघाट गरिरहेका छन् । उनले अमेरिकाको ताइवानप्रतिको नीति परिवर्तन नभएको बताएपनि जापानमा अमेरिकाले ताइवानलाई चिनियाँ आक्रमणबाट जोगाउने भनी दिएको उनको अभिव्यक्ति केही महिनाभित्र दोस्रोपटक आएको हो । 

विगतमा अमेरिकाले चीनले ताइवानमा हमला गरेमा आफूले कस्तो कदम उठाउने भन्ने स्पष्ट धारण राख्ने गरेको थिएन ।

चीनले ताइवानलाई आफूबाट टुक्रिएको भूभाग ठान्ने गरेको छ । यसलाई आफूमा गाभिनुपर्ने चीनको अडान छ ।

बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाँग वेनविन भन्छन्, “ताइवान चीनको विवादरहित भूभाग हो । यसबारे कुनै सम्झौता र छुटका लागि कुनै स्थान नै छैन । ताइवानको प्रश्न र युक्रेनको विषयमा मूलभूत भिन्नता छ । यी दुईलाई तुलना गर्नु वाहियात हो । हामी पुन: अमेरिकालाई एक चीन नीतिमा आवद्ध रहन आह्वान गर्दछौँ । बीबीसीबाट