April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम कांग्रेसका नेता कार्यकर्ताबीच टीकाटिप्पणी : कर्ण मल्लको कारबाहीमा मिश्रित प्रतिक्रिया

धनगढी : कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामै विद्रोहको नेतृत्व गरेका डडेलधुरा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्लमाथि भएको कारबाहीलाई लिएर कांग्रेसभित्र मिश्रित प्रतिक्रिया आएको छ । मल्ल समूहका नेता कार्यकर्तामा आक्रोशित छन् भने अधिकांशले स्वाभाविक मानेका छन् ।

सुदूरपश्चिमका अन्य जिल्लाका नेता कार्यकर्ताले मल्लमाथिको कारबाहीलाई स्वाभाविक रूपमा लिएको प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जालमा मल्ललाई गरिएको कारबाहीलाई लिएर सुदूरपश्चिमका कांग्रेस कार्यकर्ताबीच निकै टीकाटिप्पणी भएको छ ।

‘अघिल्लो स्थानीय तह निर्वाचनमा मल्लले गरेको अन्तरघातपछि कारबाही हुनुपर्थ्यो,’ एक जना कांग्रेस कार्यकर्ता पदम गाउँलेले भने, ‘त्यतिबेला मल्ल समूहको अन्तरघातका कारण कांग्रेसले डडेलधुरामा ३ स्थानीय तह गुमाएको थियो ।’ नेतृत्वले हेक्का राखेन उल्टै उनीलाई नै प्रदेशसभाको उम्मेदवार बनाएका कारण अहिलेको परिस्थिति सिर्जना भएको उनको दाबी छ । अर्का कांग्रेस कार्यकर्ता वीर पाल भन्छन्, ‘देउवाले पार्टी विभाजन गर्दा मल्लहरूले जसरी त्यतिबेला संस्थापन पक्षका कार्यकर्तालाई दुःख दिए आज त्यो सम्झनुपर्ने भएको छ ।’

एक जना मल्लपक्षीय कार्यकर्ता जनक बोहरा भन्छन्, ‘यो देउवाको अतिवादी सोचको परिणाम मात्र हो ।’ आफूअनुकूल हुँंदा जे गरे पनि ठीक हुने र आफू प्रतिकुल हुँदा कारबाहीको डन्डा चलाउने देउवाको पुरानो शैली दोहरिएको उनले बताएका छन् । एक अर्का कार्यकर्ता युवराज पाण्डेय जिल्लामा घरघरमा कर्ण मल्ल भएकाले कति कर्ण मल्ललाई देउवाले कारबाही गर्छन्, प्रतीक्षाको विषय भएको टिप्पणी गरेका छन् । पाण्डेय भन्छन, ‘यसको परिणाम वैशाख ३० पछि सबैले देख्नेछन् ।’

निर्वाचनको मुखमै आएर भएको कारबाहीलाई धेरैले कांग्रेसभित्र मौलाएको अराजकतालाई यसले केही मात्रामा भए पनि मत्थर पार्ने बताएका छन् । कांग्रेसका महासमिति सदस्य सुरेश जोशी गत स्थानीय निर्वाचनमा भएको अन्तरघातलगत्तै यसरी कारबाही गरेको भए अहिलेको अराजक स्थिति नहुने बताउँछन् । जोशी भन्छन्, ‘पार्टीभित्रै रहेर आशा पनि गर्ने र पार्टी विपरीत लगातार गतिविधि गरिरहने प्रवृत्ति यो कारबाहीले निरुत्साहित हुनेछ ।’

डडेलधुरा कांग्रेसका सभापति भीमबहादुर साउद आफूले पटक पटक मिलेर जाने प्रस्तावलाई मल्लपक्षले कुनै चासो नराखेको बताएका छन् । साउदले भने, ‘कांग्रेसभित्र जुन पक्षका भए पनि जित्नेलाई टिकट दिएर मिलेर जाने प्रस्ताव पनि उनीहरूले मानेन ।’ साथीहरूले पार्टी छोडेकामा दुःख लागेको बताउँदै साउद भन्छन्, ‘आफूले मिलेर जाने गरेको प्रस्तावको उपेक्षा गरेर पार्टीलाई कमजोर बनाउने गतिविधि निरन्तर भइरहेपछि भएको कारबाही स्वाभाविक हो ।’

मल्लमाथि कारबाही भए पनि डडेलधुरामा उनी पक्षका तल्लो तहका कार्यकताले सामूहिक राजीनामा दिने सम्भावना रहेको छ । मल्लपक्षका नेता पूर्वजिल्ला सचिव लोकराज भट्ट भन्छन्, ‘देउवाले हाम्रा विषयमा कुनै कुरा पनि सुन्न नचाहेपछि विद्रोहबाहेक अर्को विकल्प थिएन । जिल्लाभरि कार्यकर्ताहरूसँग सल्लाह भइरहेको छ सम्भवतः सबैले सामूहिक राजीनामा दिएर कांग्रेस छोड्ने सम्भावना रहेको छ ।’ मल्लमाथिको कारबाहीले थप सशक्त भएर निर्वाचनमा जानेबाहेक अर्को विकल्प पनि नभएको भट्टले बताए । कान्तिपुरबाट