पाकिस्तानका प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव खारेज, संसद् भंग गर्न सिफारिस

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त्यहाँको संसद् भंग गर्न आइतबार राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । आइतबार बसेको नेसनल एसेम्ब्लीको बैठकमा उपसभामुख कासिम खान सुरीले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भन्दै खारेज गरिदिएको थियो।
खानविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वासको प्रस्ताव राष्ट्रियसभाका उपसभामुखले संविधानको धारा ५ सँग बाझिएको भन्दै खारेज गरिदिएको हो ।
अविश्वास प्रस्ताव राखेज भएसँगै संसद बैठक पनि स्थगित गरिएको थियो। ३४२ सदस्यीय संसदमा बहुमतका लागि १७२ सिट आवश्यक हुन्छ। सत्तारूढ गठबन्धनका केही दल र उनकै पार्टीका सांसदहरूले साथ नदिने भएपछि खान अल्पमतमा परेको बताइन्छ।
त्यसलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले संसद् भंग गरी निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पिटिभीका अनुसार आजै खानले संसद विघटन गर्न राष्ट्रपतिलाई लिखित सिफारिस गरेका हुन्। राष्ट्रका नाममा सम्बोधन गर्दै खानले अब प्रजातान्त्रिक तरिकाबाट चुनाव हुने बताएका छन्। उनले आफूविरूद्ध भइरहेका सबै षडयन्त्र आज असफल भएको दाबी गरेका छन्।





प्रतिकृया दिनुहोस्