May 2, 2026, Saturday
२०८३ बैशाख १९

वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्छ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

किभ : युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफू रुससँग वार्ताका लागि तयार रहेको पुन: दोहोर्‍याएका छन् । रुसी राष्ट्रपति पुटिनसँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले चेतावनी दिए । 

‘म पुटिनसँग वार्ताका लागि तयार छु । म दुई वर्षयता त्यसका लागि तयार नै थिएँ । मलाई लाग्छ, हामीले वार्ताबिना यो युद्ध अन्त्य गर्न सक्दैनौं,’ सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘सहमतिका लागि हामीले कुनै पनि ढाँचा अवलम्बन गर्न सक्छौं । यदि, यो असफल भए तेस्रो विश्वयुद्ध हुनेछ ।’

जेलेन्स्कीले युद्धको अन्त्य तथा युक्रेनको सुरक्षा सार्वभौमिकताको प्रत्याभूतिका लागि वार्ता मुख्य प्राथमिकता भएको बताएका छन् ।

रुसले २६ दिनदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ । आक्रमणबाट जनधनको धेरै क्षति भएको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्ध रोक्ने एकमात्र उपाय वार्ता भएको बताएका छन् । उनले वार्ताका लागि कुनै पनि तरिका र सम्भावनाको उपयोग गर्नुपर्ने बताएका छन् ।

यसअघि रुस र युक्रेनी अधिकारीबीच बेलारुसमा भएको वार्ता निष्कर्षविहीन भएको थियो । अहिले टर्कीले दुवै देशका अधिकारीलाई वार्तामा बसाउने पहल गर्दै आएको छ । एजेन्सी