April 25, 2026, Saturday
२०८३ बैशाख १२

बैतडीमा नवनियुक्त कर्मचारी मृत फेला

बैतडी, असार २१ (ई–रैवार)

बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला आइतबार अपराह्न ४ः३० बजे  सिगास–२, कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन्  । प्रहरी निरीक्षक शाहीले भने, “नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पेट दुख्यो भनेर एक्कासि ढलेको भन्ने बुझिएको छ ।”

गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचानक पेट दुख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्कासि ढलेको बताइएको छ । भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन ।

शव परीक्षण आज मात्रै गरिने इलाका प्रहरी कार्यालय पाटन, बैतडीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस