भारतको कुम्भ मेलामा सहभागी झन्डै दुई हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

नयाँ दिल्ली, वैशाख २ (ई-रैवार)
कुम्भ मेलामा सहभागी दुई हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारामा जारी कुम्भ मेलामा सहभागी दुई हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
हरिद्वार जिल्लामा अप्रिल १० तारिखदेखि सुरु भएको कुम्भ मेलामा सहभागीमध्ये दुई हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रमुख मेडिकल अधिकृत डा. एसके झाले बताएका छन् । दैनिक कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा पनि मेला भने जारी नै राखिएको छ ।
हरिद्वार जिल्लाका मजिस्ट्रेट तथा मेलाका अधिकारी दिपक रावतले मेला रोक्ने विषयमा आफूलाई कुनै जानकारी नआएको बताएका छन् । जनवरीमा सुरु हुने भनिए पनि कोरोना महामारीका कारण मेला अप्रिलदेखि सुरु गरिएको थियो । उनले यसको केही समय घटाउन सकिने बताएका छन् ।
प्रहरीको तथ्यांक अनुसार बुधबारसम्म १३ लाख ५१ हजार ६३१ जनाले मेला अवलोकन गरेका छन् । बुधबार एकैदिन हरिद्वारको मेलामा सहभागी ५२५ कोरोना संक्रमित फेला परेका थिए भने दुईजनाको मृत्यु भएको छ ।
अप्रिल १३ र १४ मा मेलामा सहभागीहरुको परीक्षणको तथ्यांक आइनसकेकाले यो संख्या थप बढ्ने जनाइएको छ । उत्तराखण्डको उच्च अदालतले दैनिक कम्तीमा ५० हजारको कोरोना परीक्षण गर्न र प्रत्येक तीर्थयात्रीले अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो ।
हरिद्वारमा हालसम्म तीन हजार सक्रिय संक्रमित रहेका छन् । पछिल्लो पाँच दिनमा मात्रै हरिद्वारमा दुई हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार भारतमा २४ घण्टामा दुई लाखभन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका थिए ।
कोरोना संक्रमितको संख्या दैनिक बढे पनि अधिकारीहरुले भने कुम्भ मेला नछोट्ट्याउने बताएका छन् । हरिद्वारका जिल्ला मजिस्ट्रेट तथा कुम्भ मेलाका अधिकारी दीपक रावतका अनुसार मेला छोट्ट्याउने विषयमा कुनै छलफल नभएकाले मेला अप्रिल ३० सम्म चल्नेछ ।
प्रतिकृया दिनुहोस्