March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

भारतमा कोरोनाको दोस्रो लहर : एकै दिन थपिए १ लाख ५२ हजार

एजेन्सी, चैत २९ (ई-रैवार)

भारतमा कोरोनाको दोस्रो लहर दिन प्रतिदिन खतरनाक हुँदै गइरहेको छ । यहाँ शनिबार एक लाख ५२ हजार ५ सय ६५ जनामा कोरोना पुष्टि भएको छ ।

महामारीको सुरुवातपछि पहिलो पटक एकदिनमा यति धेरै बढी संक्रमितको पहिचान भएको हो । पछिल्लो २४ घण्टामा ९०,३२८ मानिस निको भएका छन् र ८३८ जनाको मृत्यु भएको छ । मृत्युको मामिलामा यस वर्ष दोस्रो पटक एक दिनमा ८ सय बढीभन्दा मानिसले ज्यान गुमाएका छन् । यसअघि ८ अप्रिलमा ८०२ जनाको मृत्यु भएको थियो ।

देशमा सक्रिय संक्रमित अर्थात् कोरोनाको उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ । अघिल्लो दिन यसमा ६१, ३२९ को वृद्धि भएको छ भने सक्रिय संक्रमितको आँकडा ११ लाख २ हजार ३७० सम्म पुगेको छ ।

भारतमा कोरोनाभाइरसका सक्रिय संक्रमित ११ लाख नाघेका छन्। पछिल्लो २४ घन्टामा १ लाख ५२ हजार थपिएसँगै सक्रिय संक्रमितको संख्या ११ लाख नाघेको हो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ११ लाख ४५ हजार ६३१ पुगेको छ। दैनिक संक्रमित बढ्दै गएका छन्।

नेपालसँग सीमा जोडिएका उत्तरप्रदेश, उत्तराखण्ड, बिहार र पश्चिम बंगालमा पनि संक्रमित थपिँदै गएका छन्। सबैभन्दा बढी उत्तरप्रदेशमा संक्रमण देखिएको छ।

कोरोनाको दोस्रो लहर चलिरहेका बेला भारतमा कोरोनाविरुद्धको खोप अभाव भएको छ। खोप सकिएपछि महाराष्ट्रमा खोप सेन्टर बन्द गरिएका छन्।

भारतमा अहिले दैनिक ३०–४० लाख खोप लगाइँदै आएको छ। स्वास्थ्यमन्त्री हर्षवर्द्धनले १३ करोड ५० लाख खोप रहेको जनाएका छन्। उनका अनुसार, अझै ४ करोड खोप पाइपलाइनमा रहेका छन्। तर, भारतका विभिन्न राज्यमा खोप अभाव भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।