April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी,पुस १५ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २ सय ९७ जनाको नमूना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको नमुना परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ९० जनाको नमूना परीक्षण गर्दा ४७ जना, जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ३८ जनाको नमुना परिक्षण गर्दा १ जनामा, डडेल्धुरा अस्पतालमा ४२ जनाको परीक्षण ३ जना र कमलबजार नगरपालिकाको प्रयोगशालामा २७ जनाको परीक्षण गरिएकामा एक जनामा पनि संक्रमण पुष्टि नभएको कार्कीले बताए।

सेती प्रादेशिक अस्पतालमा आज गरिएको परीक्षणमा कैलालीका ३९ जनामा संक्रमण पुष्टि भएको छ। अस्पातलका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका ३४ जना, लम्किचुहा नगरपालिकाका ४ जना र गौरीगंगा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको बताए।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, यस्तै कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका र डोटीका १/१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।