April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा सोमबार ५२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १९२ पुग्यो

धनगढी, मंसिर ८ (ई–रैवार)  

सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका २ वटा प्रयोगशालामा ३ सय ५३ जनाको परीक्षण गर्दा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ५३ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५६ जनाको परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता कार्कीले बताए ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २५ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ७ जना, वडा नम्बर २ र ५ का ४र४ जना, वडा नम्बर ८ का २ जना, त्यसैगरी वडा नम्बर ३, १२, १३, १६ र १७ का १–१ जनामा संक्रमण देखिएको छ । यस्तै वडा नखुलेका धनगढीका ३ जनामा समेत कोरोना पुष्टि भएको छ ।

कैलालीकै भजनी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका २–२ जना र बर्दगोरिया गाउँपालिकाका १ जनामा समेत कोराना पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिकाका र डडेल्धुराको परशुराम नगरपालिकाका १–१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

डडेल्धुरा अस्पताल डडेल्धुरामा भने ९७ नमूना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ९२ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ४७ जनाले कोरोना जितेका छन् भने ५० जनाको मृत्यु भएको छ ।