March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा कोनी ब्यारेटको नाम सिनेटबाट पारित

एजेन्सी, कार्तिक ११ (ई-रैवार)

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त भएकी छन् । राष्ट्रपति निर्वाचनअगावै डोनाल्ड ट्रम्पले सिफारिस गरेकी ब्यारेट न्यायाधीशमा नियुक्त भएकी हुन् ।

अमेरिकाको माथिल्लो सदन सिनेटले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित एमी कोनी ब्यारेटको नाम पारित गरेको छ । माथिल्लो सदनमा पकड रहेका रिपब्लिकन सिनेटरले कोनीको नाम पारित गरेका हुन् । सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सिनेटरले न्यायाधीश कोनीको पक्षमा ५२ तथा विपक्षमा ४८ मत परेको हो ।

सोमबार बेलुका भएको मतदानमा एक मात्र रिपब्लिकन सिनेटर सुजन कोलिन्सले कोनीको विपक्षमा मतदान गरिन् । राष्ट्रपतीय चुनाव हुन एक साता मात्रै बाँकी रहँदा ट्रम्प सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने प्रक्रियामा सफल भएका हुन् ।

प्रतिष्ठित न्यायाधीश रुथ बेडर गिन्सबर्गको निधन भएपछि रिक्त रहेको न्यायाधीश पदमा कोनीलाई नियुक्त गरिएको हो ।

न्यायाधीशमा कोनीको नियुक्तिसँगै अमेरिकाको सर्वोच्च न्यायीक निकायमा कन्जरभेटिभ न्यायाधीशको बहुमत ६-३ को हुनेछ । अमेरिकाको सर्वोच्च अदालतमा रहने ९ न्यायाधीशले जीवनभर सेवा गर्न पाउने व्यवस्था छ ।

ट्रम्पले नियुक्त गर्ने उनी सर्वोच्चको तेस्रो न्यायाधीश हुन् । यसअघि २०१७ मा नील गोर्सच र २०१८ मा ब्रेट काभानाघलाई ट्रम्पले नियुक्त गरेका थिए ।