April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलाली कञ्चनपुरमा बाढीले सयौं घर डुवानमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

 

धनगढी, साउन १४ (ई-रैवार)

कैलाली कञ्चनपुरमा गएराति देखिको बर्षापछि सयौं घर डुवानमा परेका छन । बर्षासंगै नदीमा पानीको वहाव खतरा नजिक पुगेको छ । तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरएिको छ ।

कैलाली कञ्चनपुर जिल्लामा बर्षासंगै आएको बाढी गाउँ पस्दा सयौं बढि घर डुवानमा परेका छन । कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुरमा काडा नदी गाउँ परेपछि २५ घर डुवानमा परेका छन । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।

यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुवानमा परेका छन । काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० बढि घरमा डुवान भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए । कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुवानमा परेका छन ।
घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिए । घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लुगाकपडा भिजेर नष्ट भएका स्थानीयवासीले बताएका छन ।

भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय सरकारले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन। जोखिमबाट बच्न पूर्वतयारी स्वरुप उद्धार टोली तयारी अवस्थामा राखेको नगरपालिकाले जनाएको छ । सो क्षेत्रमा वर्षेनी बाढी र कटान हुन्छ।

सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उप–महानगरपालिकाको बजार क्षेत्रकै सबै वडाहरु पनि डुवानमा परेका छन । हुलाकी राजमार्ग वरीपरीका घर तथा पसलमा पानी पसेको स्थानीय वासिन्दाले बताउका छन ।

तटीय क्षेत्रमा सतर्क रहन आग्रह

कर्णाली नदीमा पानीको वहाव अत्यधिक बढेपछि तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ। कर्णाली नदीमा पानीको वहाव ९ दशमलव तीन मिटरमा पुगेको भन्दै सतर्क रहन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गरिएको हो ।

ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरिक्षक दिर्घवहादुर बोगटीले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए। उनले टीकापुर क्षेत्रमा समेत सतर्कता अपनाउन आग्रह गरिएको बताए।
कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ । ९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटिय क्षेत्रका वासिन्दालाई आग्रह गर्ने गरिएको छ ।

कर्णालीमा पानीको सतह बढेमा कैलालीकै टीकापुर र बर्दियातिर बाढीले डुवान हुने सम्भावना हुन्छ। तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

सुदूरपश्चिमका अधिकासं क्षेत्रमा बर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले सुदूरपश्चिमका अधिकासं क्षेत्रमा बर्षा भईरहेको छ।

देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको विभागले जनाएको छ। आज दिउँसो र राति सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ

 

सुदूरपश्चिम प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

हाल कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी बर्षा भईरहेको र थप बर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधर लगायतका नदीमा आकस्मिक बाढी आउने खतरा भएको समेत विभागले जानकारी दिएको छ ।