बल्ल मुख्यमन्त्रीको सम्बोधन ! प्रतिक्रियामा भरमार कटाक्ष !

धनगढी चैत्र २३(ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा करिब डेढलाखबढी नागरिक भारतबाट नेपाल प्रवेश गरे । भारत जहाँ नोवेल कोरोनाभाईरस(कोभिड–१९)ले आफ्नो कहर बर्साईरहेको छ । त्यहाँबाट यत्रो ठुलो संख्यामा नेपाली आउदा कुनै सतर्कता अपनाईएन् । धमाधम गाउँघर पस्न दिईयो । संघीय सरकारले ‘लकडाउन’ ग¥यो । सयौँ सुदूरपश्चिमेली नागरिक नाकामा थन्किए । उनीहरु नपाउनु सास्ती भोगिरहेका छन् । नेपालमा पनि कोभिड–१९ संक्रमण देखिन थाल्यो, सुदूरपश्चिममै चारजनामा देखियो । जसमध्ये दुई भारतबाट आएका ! प्रदेशभरी अवस्था भयावह् छ ।
……..मुख्यमन्त्री चुँईक्क बोल्दैनन् ! प्रदेश सरकार कानमा तेल हालेर बस्यो । यति यावत् हुँदासम्म प्रदेश सरकारले न केही सतर्कता अपनायो, न केही सन्देश दियो ।
यसको फलस्वरुप पछिल्ला केहीदिनयता सुदूरपश्चिम सरकारको व्यापक विरोध भईरह्यो ।
अन्ततः आईतबार दिउँसो मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशबासीका नाममा सम्बोधन गर्ने जाँगर देखाए ।
करिब १४ मिनेट जति गरेको उनको सम्बोधनले आम प्रदेशबासीको भावना भने समेट्न सकेन् । बरु उल्टो हाँस्यास्पद बनेको छ । सम्बोधनका बारेमा यतिबेला सामाजिक सञ्जालमा चरम टीकाटिप्पण्ी भईरहेको छ ।
उनको सम्बोधनलाई लिएर स्वयम् उनकै पार्टीसंग आवद्धहरुले समेत चर्काे कटाक्ष गरिरहेका छन् ।
‘हाम्रो सुझाव थियो–राजनीतिक सल्लाहकार राख्नुस, प्रेस सल्लाहकार राख्नुस् । देखियो त आज टीमवर्कको तयारी ?’ पुर्व माओबादी लडाकु तथा नेपाल कम्युनिष्ट पार्टी डोटीका नेता भरत बोहराले फेसबुकमा लेखेका छन् । उनले सोही स्टाटसमा ‘वर्ता भयो नभन्सेला’ भनेर थप लेखेका छन् । उनको सोही स्टाटसमा मुख्यमन्त्री कार्यालयमा केही समय बिताएका नेकपा डोटीका नेता एबं पत्रकार लोकेश अधिकारीले ‘यस्तै हो कमरेड, जे भो राम्रैका लागि भो’ भनेर कटाक्ष गरेका छन् ।
धनगढीका पत्रकार एकीन्द्र तिमिल्सेनाले ‘सुदूरपश्चिमका मुख्यमन्त्रीको सम्बोधन छ भन्ने सुन्दा केही आशा जागेको थियो । सुने, सम्बोधन रहेनछ । लिखित मन्तब्य रहेछ । यसैगरी पाँचवर्ष गए त……!’ भनेर कटाक्षसहित लामो स्टाटस लेखेका छन् ।
मुख्यमन्त्रीको सम्बोधनका क्रममा शब्दको उच्चारण र शैलीलाई लिएर समेत सामाजिक सञ्जालमा तीब्र कटाक्ष चलिरहेको छ । उनले लिखित सम्बोधन पढ्न निकै कठिनाई भईरहेको अनुभूति हुन्छ । नोवेल कोरोनाभाईरस सम्बोधन गर्दा उनले दुईपटक ‘नोवला’ भनेर सम्बोधन गरेका छन् । पटक–पटक अड्कीएका छन् ।
सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्टको ‘सन्देशविनाको सम्बोधन’ भनेर पनि टिप्पणी भईरहेको छ । पत्रकार केशव साँवद फेसबुकमा लेख्छन्,‘अनि सुदूरपश्चिमेलीलाइ गरिएको सम्बोधनको सारांश के रहेछ ? बुझाई पाउँ न ?’
सम्बोधनमा के थियो ?
मुख्यमन्त्री भट्टले आईतबार प्रदेशबासीका नाममा गरेको सम्बोधनको अधिकांश ठाउँमा प्रदेश सरकारले गरेको कामभन्दा समन्वय गरेको कुरा बढी उल्लेख छ ।
उनले सम्बोधनको सुरुवातमा प्रदेश सरकारका सबै संयन्त्रमार्फत आम जनमुदायलाई सचेत र सजग गराउन शुरुदेखी नै समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बताएका थिए । यसका लागि स्थानीय प्रशासनसंग समन्वय गरी भारतबाट आएकालाई क्वारेन्टाईनमा राखेको बताएका छन् ।
यसबाहेक स्थानीय तहलाई कोरोाबाट सतर्कता बढाउन रकम दिएको कुरा उल्लेख गरेका छन् । नेपाल प्रवेश गर्न नसकी सीमामा अलपत्र परेका नेपालीलका सन्दर्भमा प्रदेश सरकारको ध्यानाकर्षण भएको बताउदै उनले नेपाल सरकारसंग अनुरोध गरेको बताएका छन् । त्यस सन्दर्भमा नेपाल सरकार र छिमेकी भारत सरकारको सहमतीमा उनीहरुलाई उतै क्वारेन्टाईनमा व्यवस्थापन गरिएको बताएका छन् । यद्यपी उनीहरुलाई छिट्टै नेपाल प्रवेश गराएर स्थायी समाधान खोज्न प्रदेश सरकारले समन्वय गरीरहेको बताएका छन् ।
सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरेको, महाकाली प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरु तथा स्वास्थ्य कार्यालयहरुलाई आईशोलेसन वार्ड बनाईएको र त्यसका लागि आवश्यक रकम उपलब्ध गराएको उनले बताएका छन् ।
संघ सरकारबाट प्राप्त र प्रदेशमै खरिद गरिएका स्वास्थ्य समाग्रीहरु प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालयबाट जिल्ला र स्थानीय तहमा पठाएको सम्बोधनमा उल्लेख गरेका छन् ।
मुख्मयन्त्री भट्टले कोरोना परिक्षण प्रयोशाला बनाउन सेती प्रादेशिक अस्पताल, जिल्ला डोटी अस्पताल र बैतडी जिल्ला अस्पताललाई संघ सरकारमा सिफारिस गरिएकोमा सेतीमा भईसकेको तथा डोटी र बैतडीका लागि समन्वय गरिरहेको सम्बोधनमा उल्लेख गरेका छन् ।
कोरोना रोकथाम र सतर्कताका लागि प्रदेश सरकारले ४० करोडको आपतकालिन कोष निर्माण गरेको र त्यसमा बैंक र वीत्तीय र अन्य क्षेत्रबाट रकम जम्मा हुने क्रम जारी रहेको उनले बताएका छन् ।
दैनिक ज्यालादारी गरेर गुजारा चलाउने, विपन्न र असाहायका लागि राहत वितरण गर्न प्रयासरत रहेको व्यहोरा सम्बोधनका क्रममा बताएका छन् ।
कैलाली र कञ्चनपुरमा ¥यापीड टेस्ट किटमार्फत संघ सरकारले कोरोना परिक्षण गर्ने निर्णय लिएकोमा बाँकी जिल्लामा पनि यसको सुरुवातका लागि समन्वय गरिरहेको सम्बोधनमा उल्लेख गरेका छन् ।





प्रतिकृया दिनुहोस्