एमालेको ११ औं महाधिवेशन : बन्दसत्र अपराह्न १२ः१५ बाट सुरु हुने

काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको समय सार्वजनिक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आज अपराह्न १२ः१५ मा बन्दसत्र सुरु हुने भएको हो।
त्यसअघि भृकुटीमण्डपमै बिहान केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै छ। त्यसपश्चात बन्दसत्र सुरु हुने बताइएको छ।
नयाँ नेतृत्व चयनका लागि बन्दसत्र सञ्चालन हुने भएपछि नेता कार्यकर्ता भृकुटीमण्डपमा भेला हुन थालेका छन् ।
बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।
महाधिवेशनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भइसकेको छ । त्यस्तै, महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।
नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ ।





प्रतिकृया दिनुहोस्