May 3, 2026, Sunday
२०८३ बैशाख २१

२८ दिनदेखि शिक्षकहरू सडकमै, माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौँ । २८ दिनदेखि शिक्षकहरू सडकमै रहेका छन् । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलनको २८ औँ दिन पनि जारी रहेको छ।

२८ दिनदेखि शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर प्रदर्शन गर्दै आएका छन् ।

आफूहरूको मागका सम्बन्धमा सरकारसँग हालसम्म भएका वार्ता सकारात्मक नबनेको शिक्षकहरूले बताएका छन् । उनीहरूले तत्काल सहमति नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

आज बिहान  बसेको नेपाल शिक्षक महासंघको बैठकमा शिक्षक नेताहरू सरकार आफूहरूको माग र मुद्दाप्रति गम्भीर नदेखिएको भन्दै आन्दोलन थप चर्काउनुपर्ने पक्षमा उभिएको बताइएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठककमा आन्दोलनरत शिक्षकहरूका माग चाँडो सम्बोधन गर्न सांसदहरुको सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद भगवती चौधरीले शिक्षक आन्दोलनको चाँडो समाधान निकाल्नुपर्ने बताइन् । उनले सार्वजनिकस्थल, व्यापारिक केन्द्रलगायत ठाउँमा आगलागीका घटनाको जोखिम व्यवस्थापन गर्न दमकलको व्यवस्था गर्न आग्रह गरिन् ।

सांसद भानुभक्त जोशीले पनि आन्दोलनरत शिक्षकको मागतर्फ सरकारले ध्यान नदिएको आरोप लगाउँदै उनीहरुलाई चाँडो विद्यालय फर्काउन सरकारले पहल गर्नुपर्ने बताए ।

सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रूपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले शिक्षकहरू काँग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख गरे । शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाई थियो । 

उनले भने, ‘शिक्षक नेपाली काँग्रेस, एमाले र माओवादीका मात्र होइनन् सम्पूर्ण देशका हुन् र सबैलाई पढाउने शिक्षक हुन् । उहाँहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा जुलुस निकाल्ने, पानीको फोहोरा खुवाउने र गीत गाउने रूपमा व्यवस्थापन नगरियोस् । तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गरियोस् । उहाँका मागहरू सम्बोधन गर्नतिर सरकार लगोस् । र नवनियुक्त शिक्षामन्त्रीले यहाँ आएर त्यसको जवाफ दिने वातावरण सिर्जना होस् ।’

उनले गभर्नर नियुक्त नभएर अर्थतन्त्रमा परेको असरबारे व्याख्या गर्नै नसक्ने स्थिति सिर्जना भएको बताए । उनले सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्त गर्नुपर्ने बताए ।

सांसद महेन्द्रबहादुर शाही लगायतकाले आन्दोलनरत सबै पक्षका माग समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।