भ्रष्टाचारी र बिचौलियाको चाहनामा बनेको सरकार टिक्दैन : प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र बिचौलियाबिच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । संविधानको भावनाविपरीत र अपारदर्शी ढंगले निर्माण भएको वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने प्रचण्डले फेरी दोहोर्याएका हुन।
भ्रष्टाचारी र बिचौलियाको चाहनामा बनेको गठबन्धन सरकारभित्रै असन्तुष्टि तीव्र भइसकेकाले आफूहरूले धेरै विरोध गर्नु नपर्ने उनले बताए। प्रेस सेन्टर नेपाल रुपन्देहीले बिहीबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्री दाहालले सरकारमा संलग्न नेपाली कांग्रेसका महामन्त्रीले नै प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको उल्लेख गर्नुले आफूहरूको आरोप पुष्टि भएको बताए।
‘एमालेभित्र पनि असन्तुष्टि भुसीको आगोझैँ फैलिएको छ,’ उनले भने, ‘सरकारमा सहभागी दलका नेतासँगको संवादका आधारमा यो सरकार नयाँ वर्षसँगै जान्छ भनेको थिएँ। यो सरकार जतिदिन लम्बिन्छ, त्यति जनताको लागि दुर्भाग्य हो।’
सरकारले गरिरहेका राजनीतिक नियुक्ति पनि बिचौलियाको स्वार्थअनुसार भइरहेको आरोप उनले आरोप लगाए। ‘अहिलेको सरकारले राम्रो काम गर्ने इमानदार कर्मचारीलाई प्रताडित तुल्याइरहेको छ,’ उनले भने, ‘आफ्नो मान्नेलाई मात्र भर्ना गरिरहेको छ।’
अहिले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्नुको कारण बिचौलियाबीचको तानातान भएको उनले बताए। सरकारले राम्रालाई नियुक्त गर्ने भन्दा बिचौलियालाई अवसर दिने गरेको उनको आरोप छ । बिचौलियाकै इशारामा सरकारले राम्रा कर्मचारीलाई दुख दिने गरेको प्रचण्डले बताए ।
सरकार असंवैधानिक भएको आरोप लगाउँदै उनले यो सरकार दुई तिहाइको नभई षड्यन्त्र र अपारदर्शीको भएको उल्लेख गरे । कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरूलाई थाहा नदिई अपारदर्शी ढङ्गले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन ओलीको नेतृत्वमा सरकार बनाइएको प्रचण्डको दाबी छ ।





प्रतिकृया दिनुहोस्