May 3, 2026, Sunday
२०८३ बैशाख २१

बिम्स्टेक शिखर सम्मेलन सुरु, सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

बैंकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैंककस्थित होटल सांग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो ।

सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राले स्वागत गरेकी थिइन् । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले पनि सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन् ।

सम्मेलनमा दिवा भोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ । यी सबै कार्यक्रमहरु बैंककस्थित होटेल सांग्रिलामा हुनेछन् ।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् । बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।