नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

काठमाडौँ । चुनावी अभियानदेखि नै ‘अमेरिका फर्स्ट’ नीतिलाई जोडतोडका साथ उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा नेपालसहित १ सय ८५ मुलुकको व्यापार प्रभावित हुने भएको छ ।
ट्रम्पले नेपाललाई १० प्रतिशत भन्सार शुल्क लाग्ने देशको सूचीमा समावेश गरेका छन् । हाल नेपालले सयभन्दा बढी वस्तु शून्य भन्सारमा अमेरिका निर्यात गर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा नेपालबाट १७ अर्ब ३१ करोड बराबरका उत्पादन अमेरिका निर्यात भएको थियो । त्यस्तै, चालु वर्षको फागुनसम्ममा ११ अर्ब ३७ करोड बराबरको वस्तु अमेरिका निर्यात भएको छ ।
अमेरिकी सरकारको तथ्यांकअनुसार सन् २०२४ मा नेपाल र अमेरिकाबीचको व्यापार २४ करोड १४ लाख अमेरिकी डलर (करिब ३४ अर्ब रुपैयाँ) बराबर थियो । त्यसमा १२ करोड ९ लाख डलर (करिब १६ अर्ब ९२ करोड रुपैयाँ) बराबरका सामान नेपालले आयात गरेको थियो भने १२ करोड ५ लाख डलर (करिब १६ अर्ब ८७ करोड रुपैयाँ) बराबरका सामान अमेरिका निर्यात भएको थियो ।

राष्ट्रपति ट्रम्पले करिब ९० देशबाट हुने आयातमा अमेरिकाले जवाफी कर लगाएको बताएका छन् । अन्य देशबाट हुने सबै आयातमा भने १० प्रतिशत कर लगाइएको हो । अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनमाथि लगाएको महसुलको करिब ५० प्रतिशत भन्सार शुल्क लगाएको ट्रम्पले बताए । १० प्रतिशत शुल्क ५ अप्रिलदेखि र अन्य शुल्क ९ अप्रिलदेखि लागू हुनेछ ।
शून्य भन्सार दर लगाउँदा पनि नेपालले ठूलो लाभ लिन नसकेकाले अहिले पनि न फाइदा न घाटाको अवस्था हुने अर्थशास्त्री विश्व पौडेलको दाबी छ । ‘यसअघि शून्य भन्सार दरमा पनि हामीले अपेक्षित रूपमा लाभ लिन सकेका थिएनौं । अब १० प्रतिशत भन्सार लगाउँदा पनि अन्तर्राष्ट्रिय व्यापार धेरै प्रभावित हुने सम्भावना छैन,’ उनले भने ।
नेपालबाट जाने वस्तुमा १० प्रतिशत भन्सार लगाउने अमेरिकी निर्णयले नेपाललाई नोक्सानभन्दा बढी अवसर दिएको अर्थशास्त्री केशव आचार्य बताउँछन् । ‘एउटा राम्रो पक्ष छ, हाम्रो प्रतिस्पर्धा श्रीलंका, भारत, चीन बंगलादेशसँग हो । ती राष्ट्रले जुन वस्तु निर्यात गरिरहेका छन्, थोरै भए पनि हामीले अमेरिका निर्यात गर्ने वस्तु पनि तिनै हुन्,’ उनले भने, ‘अब ती वस्तु निर्यातमा अरू देशले धेरै र हामीले थोरै भन्सार तिर्नुपर्ने भएपछि लाभ भयो ।’
ट्रम्पले चीनका वस्तुको भन्सार दर ३४ प्रतिशत थपेर ५४ प्रतिशत पुर्याएका छन् । भारतीय उत्पादनमा २६ प्रतिशत भन्सार कर लगाएका छन् ।

ट्रम्पको ऐतिहासिक भन्सार दर घोषणाले दक्षिण एसियामा पनि दीर्घकालीन प्रभाव पार्ने देखिन्छ । भारतले अमेरिकाले लगाएको २६ प्रतिशत भन्सार महसुल शुल्कको प्रभावबारे अध्ययन गरिरहेको जनाउँदै यसै वर्षभित्र व्यापार सम्झौता टुंग्याउन प्रयास गर्ने जनाएको छ । भारतीय उद्योग र निर्यातकर्तासँग परामर्श गर्दै शुल्कको असरबारे विस्तृत मूल्यांकन गरिने वाणिज्य मन्त्रालयको भनाइ छ ।
अन्तर्राष्ट्रिय व्यापार मामिलाका जानकार पोषराज पाण्डेले आयातमा भन्सार शुल्क लगाउने अमेरिकी निर्णयले विश्व बजार नै मन्दीमा जान सक्ने सम्भावना रहेको बताउँछन् । अन्तर्राष्ट्रिय बजारमै मन्दी भएपछि नेपालबाट अरू राष्ट्रमा हुने निर्यात पनि प्रभावित हुने उनको भनाइ छ । ‘यो निर्णयसँगै अप्रत्यक्ष रूपमा नेपाली वस्तुले प्राथमिकता पाउँछन्,’ उनले भने, ‘हाम्रा प्रतिस्पर्धीहरूले भन्दा हामीेले सस्तो मूल्यमा वस्तु बिक्री गर्न सक्छौं, यो नेपाललाई अवसर हो ।’ अमेरिकामा भन्सार शुल्क महँगो हुँदा चीन, बंगलादेश, भारतलगायत राष्ट्रले उता नबिकेको सामान नेपालमा डम्प गर्न सक्ने जोखिम पनि रहेको उनले बताए ।

ट्रम्पले श्रीलंकालाई ४४ र बंगलादेशलाई ३६ प्रतिशत भन्सार दर घोषणा गरेका छन् । ट्रम्पले पहिलो कार्यकालमा आयात शुल्क लगाएपछि कतिपय कम्पनीले आफ्ना आपूर्ति चक्रलाई चीनबाट अन्यत्र सारेका थिए । ट्रम्पको पछिल्लो कदमले पछिल्ला वर्षमा त्यसरी लगानी बढ्दै गरेका देशबाट हुने निर्यातलाई समेत असर गर्नेछ । ट्रम्पको घोषणाअनुसार अब अमेरिकाले विदेशमा निर्मित गाडीमा २५ प्रतिशत भन्सार महसुल लगाउनेछ । यसअघि अमेरिकाले अन्य देशबाट आयात हुने मोटरसाइकलमा २ दशमलव ४ प्रतिशत मात्र भन्सार महसुल लिन्थ्यो ।
नयाँ कर घोषणालाई ‘मुक्ति दिवस’ को रूपमा व्याख्या गर्दै ट्रम्पले अमेरिका र चीनदेखि युरोपेली संघसम्मका अन्य देशहरूबीचको व्यापार घाटा अन्त्य गर्न नयाँ कर नीति आवश्यक भएको बताए । ‘यो हाम्रो आर्थिक स्वतन्त्रताको घोषणा हो,’ ट्रम्पले भनेका छन् ।
ट्रम्पले राष्ट्रिय आपत्काल घोषणा गर्दै अमेरिकालाई पाँच दशकदेखि निकट र टाढाका तथा मित्र र शत्रुहरूले समान रूपमा लुटेको दाबी गरेका छन् । नयाँ कर नीतिले अमेरिका विश्वकै धनी देश बन्ने दाबी ट्रम्पको छ । ‘आज हामी अमेरिकी श्रमिकको पक्षमा उभिइरहेका छौं र अन्ततः अमेरिकालाई पहिलो स्थानमा राख्दै छौं,’ ट्रम्पले भनेका छन् । उनका अनुसार भन्सार महसुलबाट बच्न अमेरिकीलाई बेच्न चाहने सामान अमेरिकामै उत्पादन गर्नुपर्नेछ । ‘भन्सार महसुलबाट छुट चाहने जोकोहीले अमेरिकामै उत्पादन गर्नुपर्नेछ ।’
नयाँ कर नीतिले अमेरिकामा उद्योगहरू थपिने र रोजगारी सिर्जना हुने उनको दाबी छ । धेरै देशले अमेरिकी बजारको फाइदा उठाएर आफूलाई समृद्ध बनाएका र अमेरिकी सामानका लागि आफ्ना बजार बन्द गरेका ट्रम्पको दाबी छ ।
क्यानडाले डेरी उत्पादनमा अत्यधिक भन्सार महसुल लगाएको र त्यो अमेरिकी कृषकहरूका लागि अन्यायपूर्ण भएको उनको भनाइ छ । क्यानडा र मेक्सिको जस्ता देशलाई उद्योग जोगाउन अमेरिकाले अनुदान दिँदै आएको जनाउँदै ट्रम्पले अब अमेरिकी कृषक र पशुपालकको हकका लागि उभिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा अमेरिका भित्रिने विदेशी वस्तुमा नयाँ भन्सार शुल्क घोषणा गर्दै । तस्बिरहरु : एपी,एफपी/रासस
ट्रम्पले भन्सार शुल्कमार्फत मित्र र शत्रु दुवै देशसँग अमेरिकाको व्यापारिक असन्तुलन समाधान गर्ने बताउँदै आएका थिए । तर ट्रम्पको नयाँ घोषणालाई दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यापार व्यवस्थाको सबैभन्दा ठूलो उथलपुथलका रूपमा हेरिएको छ । आयातकर्ताले लागत हस्तान्तरण गर्दा अमेरिकी उपभोक्ताले मात्र यसको भार बहन गर्ने नभई स्वदेश तथा विदेशमा हानिकारक मन्दीको जोखिम बढाउने विज्ञहरूको भनाइ छ ।
ट्रम्पको कदमले अमेरिका र अन्य बजारà


