May 3, 2026, Sunday
२०८३ बैशाख २१

सत्तापक्षीय दलको बैठक बालुवाटारमा सुरु, प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । सत्तापक्षीय दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । विपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरोध गरिरहेकै बेला प्रधानमन्त्रीको सरकारी निवासमा सत्तापक्षीय दलहरूको बैठक सुरु भएको हो ।

बैठकमा भूमिसम्बन्धि अध्यादेशसहित विचाराधीन विधेयकहरूका बारेमा छलफल हुने बताइएको छ । यसअघि मंगलबारको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नहुँदा एजेन्डामै बैठक प्रवेश गर्न सकेको थिएन ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।

यता प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी दलहरूका तर्फबाट माओवादीका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसँग जबाफ माग गरेका छन् ।

बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका थिए । विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए ।

बस्नेतले प्रधानमन्त्रीको जवाफ माग गरे । ‘हामी चाहन्छौं- सरकारले यो निर्णय (कुलमान घिसिङलाई हटाउने निर्णय) फिर्ता गरोस् । साथै, यसबारेमा प्रधनमन्त्रीले संसदमा आएर तत्काल गराउनुपर्छ’, बस्नेतले भने ।

तर प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित छैनन्। विपक्षी दलहरूले उठेर विरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।