कुलमान हटाएको विरोधमा विपक्षी दलहरुले आज संसद् बैठक अवरोध गर्ने

काठमाडौँ । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बिरोधमा प्रतिनिधि सभा बैठक अवरोध गर्ने भएका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले उक्त निर्णय गरेका हुन ।
बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए। विपक्षी दलहरूको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सहभागी हुने गरेकोमा बुधबारको बैठकमा भने राप्रपाका कोही पनि उपस्थित थिएनन्।
बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका नेता सन्तोष परियारले जानकारी दिए । सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै सदनमा सशक्त विरोध गर्ने बताए ।
‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानजनक ढङ्गले दुई तिहाइ दम्भका आधारमा गलहत्त्याउने काम सरकारले गर्यो, यसबारे आज हामी सदनमा सशक्त आवाज उठाउने छौ, प्रश्न गर्नेछौ’, परियारले भने,‘सडकमा पनि यसको आवाज उठेको छ ।’
सरकारले कुलमान घिसिङको कार्य सम्पादन राम्रो नभएको भन्दै पदबाट हटाउने निर्णय चैत ११ गतेको मन्त्रिपरिषद बैठकबाट गरेको थियो । कुलमानलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।
आज प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दै छ ।





प्रतिकृया दिनुहोस्