May 3, 2026, Sunday
२०८३ बैशाख २१

महाधिवेशनपछि पहिलो पटक नाउपाको केन्द्रीय समिति बैठक बस्दै, एकीकरण लगायतका विषयमा छलफल हुने

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठक आजदेखि बस्ने भएको छ । नाउपाको केन्द्रीय समिति बैठक महाधिवेशनपछि पहिलो पटक बस्न लागेको हो।

नाउपाले दिएको जानकारी अनुसार बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बिहान ११ बजेदेखि बस्ने सुरु हुने छ। अध्यक्ष रन्जिता श्रेष्ठले समसमायिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दीलगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छन्।

नाउपा र सिके राउत नेतृत्वको जनमत पार्टीबीच एकीकरणको चर्चा भइरहेको छ। यसबारे छलफल गरी आवश्यक निर्णय लिन नाउपाले केन्द्रीय समिति बैठक बोलाएको हो।

पार्टी एकताका लागि जनमत पार्टीले उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा तीन सदस्यीय कार्यदल नै बनाइसकेको छ।

बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ।

साथै पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उपप्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरू पनि केन्द्रीय समिति बैठकमा बस्ने छन्।

नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८ गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो। पहिलो महाधिवेशनले रेशम चौधरीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरे पनि अदालतको आदेशका कारण उनी पदमुक्त हुनु परेको थियो।