May 3, 2026, Sunday
२०८३ बैशाख २१

पाशुपत क्षेत्र नेपालमा हुनु सबै हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि नै गौरवको विषय भएको बताएका छन् ।

महाशिवारत्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै उनले भनेका छन्, ‘नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूहरूको लागि पनि गौरवको विषय हो ।’

उनले हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको बताएका छन् । उनले आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको बताए ।

‘वैदिक परम्परामा शिवलाई मुलतः संहारका शक्ति मानिएको भएता पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्,’ उनले भनेका छन्, ‘सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा छ ।’

रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको उनको भनाइ छ ।

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवं शिव महिमा कीर्तन शिवरात्रि पूजाअर्चनाका मुख्य अङ्ग मानिन्छ भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको उनको भनाइ छ।