May 4, 2026, Monday
२०८३ बैशाख २१

लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्नु हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्नु भएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताएका हुन ।

लोकतन्त्रको विकल्प नभएको बताउँदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्रै नै भएको बताए । ‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो’, उनले भने, ‘त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ ।’

गृहमन्त्री लेखकले लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको पनि बताए ।

दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याए । 

कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उनको भनाइ छ । राज्यका सबै अङ्गमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको उनको भनाइ छ ।