प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर हुने

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दैछ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची रहेको छ।
सचिवालयका अनुसार आजको बैठक दिउँसो १ बजेदेखि सुरु हुने छ । बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो । सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्।
गत मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने जानकारी गराएका थिए ।
आजको बैठकमा अरू तीन कार्यसूची पनि छन्। सुरूमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोर पढेर सुनाउनेछन्।
त्यसपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम र त्यसपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
आजकै बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
सरकारले ल्याएका अध्यादेश स्विकृतका लागि निर्णयार्थ प्रस्तुत गर्ने विषय आजको बैठकको कार्यसूचीमा पनि चढेको छैन।





प्रतिकृया दिनुहोस्