नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र सङ्गीत भएको बताएका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीत समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने स्पष्ट पारे ।
उनले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताए । उनले भने– ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’
राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको उल्लेख गरे ।
मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कन्जुस्याइँ गर्न नहुने राष्ट्रपति पौडेलको भनाई थियो । उनले भने– ‘यो सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो । त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीत संगीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’
राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीत संगीतको सिर्जनामा नातिकाजीले पुर्याएको योगदान अनुकरणीय रहेको बताए । उनले भने– ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीत संगीत प्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ । विशेषतः उनका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजयी त्रिवेणी भएको चर्चा गरे । उनले भने, ‘भौतिक कुराभन्दा भावना र अभौतिक कुरा महत्वपूर्ण हो । हामीले युवामा नेपालमा नै केही गर्छु भन्ने भावनाको विकास गर्ने हो भने सडक, बिजुली सिंचाई जस्ता सबै खाले पूर्वाधारको विकास गर्न सकिन्छ ।’
सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार वितरण गरेका थिए ।
नातीकाजी स्मृति समाजद्धारा आयोजित समारोहमा सञ्चारकर्मी तथा प्रस्तोता धन लामा, लोकगायक बोमबहादुर कार्की, संगीत प्रवद्र्धक प्रकाश सायमी, सितारवाधक ज्ञानुराधा गोर्खाली, गीतकार बुद्धवीर लामा, गायक दिवाकर खड्का, गीतकार किरण केसी र गायिका यशोदा पराजुलीलाई नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान प्रदान गरिएको छ ।
नातिकाजी राष्ट्रिय संगीत पुुरस्कार गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बी पाण्डे, संगीतकार आशिष अविरल र संगीत संयोजक सम्राट थापालाई प्रदान गरिएको छ । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गीत रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शंकर, गायिका स्मिता दाहाल र संगीतकार कल्याण सिंह पुरस्कृत भएका छन् ।
नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार रमेश पोखरेललाई प्रदान गरिएको छ । नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विकलाई प्रदान गरिएको छ ।
नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार कला पत्रकार सुकृत नेपाल र सुशील अर्याललाई प्रदान गरिएको छ । लेखक विमल भौकाजी, संगीत सधना प्रतिष्ठान इटहरीका अर्जुन केसी, संगीत साधक अमीर सुनार र सन्तबहादुर गिरीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिएको छ ।





प्रतिकृया दिनुहोस्