March 13, 2025, Thursday
२९ फाल्गुन २०८१, बिहीबार

चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन नपाउँने बताएका छन् । सोमबार चितवनको खैरहनीमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महाधिवशेनको वर्ष नवीकरण गर्न नपाउने विधानको व्यवस्था अनुसार यसवर्षको अन्तिम महिनाभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवशेनमा भाग लिन नपाउने उनले बताए ।

सधैं महाधिवेशन नजिक क्रियाशील सदस्यता नवीकरण हुँदै आएको छ । अब यस्तो हुदैन उनले भने, ‘२०८४ को चुनाव नजिक क्रियाशील सदस्यता नवीकरण नहुने गरी महाधिवेशन गर्ने तयारी भइरहेको छ ।’

पार्टीभित्र महाधिवेशन चाहने र नचाहने गरी पार्टीभित्र विभाजित गर्ने कार्य नगर्न उनले नेता कार्यकर्तालाई सुझाव दिए। महामन्त्री थापाले भने,‘चैतबाट क्रियाशील सकौं । बैशाखबाट छोटो समयका लागि नयाँ क्रियाशील सदस्यता वितरण गर्छौं ।’

महाधिवेशनका लागि कोही पनि अल्मिलनु नपर्ने उनले बताए । २०८४ पछि महाधिवेशन गर्न पाइन्छ कि भनेर कतिपयले भने पनि चुनाव पछि लान नमिल्ने उनले बताए। ‘त्यो भन्ने नेताहरुले पनि मनमा पाप भएर भन्नुभएको होइन। चुनावको नजिक नजिक महाधिवेशन गर्दा धेरै भाँडभैलो होला भनेर कि धेरै अगाडि गरौ कि पछि गरौं भन्नुभएको हो । २०८४ पछि महाधिवेशन गर्न संविधानले पनि दिँदैन।’

कतिपयले सानो पार्टी ल्याएर टाँसिदिए महाधिवेशन चुनाव पछि सार्न तर्क राखेको पनि सुनिएको उनले बताए । त्यस्तो अवस्था कुनै पार्टी विघटन गरेर अर्कोसँग मिले मात्रै सम्भव हुने थापाले बताए।

महामन्त्री थापाले चैतभित्र महाधिवशेन नगर्ने भ्रातृ संस्थाको म्याद नथप्ने बताए ।