विपिनको रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री आरजु राणाले गरिन् फोन

काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् ।
बिहीबार राति मन्त्री राणाले विपिन जोशीको रिहाईबारे इरानका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेकी हुन्। कुराकानीमा विपिनको रिहाईको पहल गरिदिन मन्त्री राणाले समकक्षी अब्बासलाई अनुरोध गरेकी छन्।
मन्त्री राणालाई विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री आरजुको निजी सचिवालयले जनाएको छ ।
इजरायल र हमासबिच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्न थालेका छन् । इसराइल र हमासबीच माघ ६ गते ४२ दिनका लागि युद्धविराम भएको थियो। यसबीचमा १८ जना बन्धकलाई हमासले छाडिसकेको छ। हमासले इसरायलबाहेक अन्य मुलुकका बन्धकहरु पनि छाडेको छ।
युद्धविराम घोषणापछि परराष्ट्रमन्त्री राणाले मध्यस्तकर्ताको भूमिका खेलेको कतारी अधिकारीहरूसँग विपिन रिहाइबारे कुराकानी गरेकी थिइन्।
मन्त्री राणाले अघिल्लो हप्ता इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेको उनको सचिवालयले बताएको छ। त्यसअघि सराइलका विदेशमन्त्रीसँग पनि मन्त्री राणाले फोनवार्ता गरेकी थिइन्।
इसराइलका लागि नेपाली राजदूत प्राध्यापक डा. धनप्रसाद पण्डितले पनि केही दिन अघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको रिहाइको पहल गर्न आग्रह गरेका थिए।
हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल गरिरहेको मन्त्री राणाको सचिवालयले जनाएको छ। हिजो इजरायलका राष्ट्रपतिले फोन गरी जोशीको रिहा लागि पहल गर्ने आश्वासन दिएका थिए । विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री आरजुले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहेकी छिन् ।





प्रतिकृया दिनुहोस्