March 9, 2025, Sunday
२५ फाल्गुन २०८१, आईतवार

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै, अध्यादेश पारित गर्ने कार्यसूची

काठमडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बिहीबार दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक अपराह्न १ः१५ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको हो ।

आजको प्रतिनिधि सभा बैठकबाट अध्यादेश पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ। सँगै अध्यादेशलाई अस्वीकार गर्न पेस भएका प्रस्तावहरुलाई पनि प्रस्तुन गर्ने कार्यसूची छ।

अध्यादेश अस्वीकृत गर्न प्रतिपक्षी दलहरूका सांसदले प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ प्रस्ताव दर्ता गरेका छन्।

प्रितिनिधि सभामा सत्तापक्षको बहुमत भएकाले त्यहाँबाट अध्यादेश सजिलै पास हुनेछ। यद्यपि राष्ट्रिय सभामा भने सत्तारूढ दलहरूले मात्रै बहुमत नपुग्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उपेन्द्र यादवको साथ खोजेका छन्।

यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले त्यसबारेमा बिहीबार नै निर्णय गर्ने बताएको छ। राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक छ।

जसपा नेपालले अध्यादेशबारे निर्णय गरिसकेको छैन। जसपाको केन्द्रीय कार्यकारिणी बैठकले अध्यादेशबारे अध्ययन गर्न राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएको थियो। कार्यदलले बिहीबार सुझाव दिने र जसपा नेपालले निर्णय गर्ने पार्टीले बताएको छ।

आजको राष्ट्रिय सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभा समक्ष पेस गर्नेछन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

आज सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ पनि राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछन्।

यस्तै आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।